प्रतिनिधिसभा निर्वाचनका लागि मुख्यमन्त्रीहरू तयार, सुरक्षाप्रति चिन्ता

प्रतिनिधिसभा निर्वाचनका लागि मुख्यमन्त्रीहरू तयार, सुरक्षाप्रति चिन्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग चुनावी तयारीका लागि छलफल गरेकी छन् ।

आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुख्यमन्त्रीहरूले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री कार्कीले प्रदेश सरकारहरूसँग संवाद र सहकार्य बलियो बनाउँदै निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकार कटिबद्ध रहेको बताइन् । उनले देशभर स्थायित्व र जनविश्वास कायम गर्न प्रदेश सरकारहरूको भूमिकालाई अत्यावश्यक बताउँदै सहकार्यका लागि धन्यवाद समेत व्यक्त गरिन् ।

बैठकमा सहभागी मुख्यमन्त्रीहरूले निर्वाचनको मुख्य चुनौती शान्ति सुरक्षाको विषय रहेको उल्लेख गर्दै संघ सरकारले यसमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने, ‘हामी चुनावका विपक्षी होइनौं । तर वातावरण बनाउन संघ सरकारले अग्रसर हुनुपर्छ । अहिले देशको निकास चुनावमै छ ।’

मुख्यमन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरू पुनर्निर्माणका लागि संघ सरकारले छुट्टै प्याकेज ल्याउनुपर्ने आवश्यकता औंल्याए । उनीहरूले संघीय सरकारले खर्च कटौतीका नाममा जारी गरेको परिपत्र प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेपको प्रयास हो कि भन्ने चिन्ता पनि व्यक्त गरे ।

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरे । उनले डेडिकेटेड फिडरको बक्यौता नबुझाउने उद्योगहरूको बिजुली काट्ने निर्णयले उद्योग, मजदुर र सरकारी राजस्व सबैमा नकारात्मक असर पार्ने बताए ।

बैठकको निष्कर्षमा मुख्यमन्त्रीहरूले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य र समन्वयको भावना बलियो बनाइएमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘राजनीतिक दल नै गणतान्त्रिक व्यवस्थाका आधार हुन् । जसरी पनि निर्वाचन सम्पन्न गरेर जनताले रोजेको नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न सरकारले पूरा तयारी गरेको छ ।’