काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी छोडेर गएका नेताहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गर्दै घर फर्किन कुनै अनुमति आवश्यक नहुने बताएका छन् ।
प्रेस चौतारी नेपालले सोमबार काठमाण्डुमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै पोखरेलले पार्टीको नीति र नेतृत्वमाथि विवाद गर्ने र पार्टीमा भाँडभैलो मच्चाउने सोचले भने नआउन स्पष्ट पारे ।
‘नेकपा एमालेबाट अलग भएकाहरूको सन्दर्भमा केन्द्रीय कमिटीको बैठकबाटै निर्णय गरेका छौं, आफ्नो घर फर्किनका लागि कुनै एकता गरिरहनु पर्दैन, घरका सन्तानहरू कोही बाहिर गएपछि घर आउँछु भन्दा अनुमति लिनुपर्छ र ?’ उनले भने ।
पार्टीमा फर्किनेहरूलाई क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने पनि उनले बताए । ‘तर शर्त एउटै छ– नीति र नेतृत्वका प्रश्नमा सहमति गरेर आउनुस्, बहस विवाद गर्न आउने कुरामा पार्टी सहमत हुन सक्दैन,’ पोखरेलले भने ।
पोखरेलले पार्टीभित्र पुनर्मिलनका लागि वातावरण बनाइएको बताउँदै उनले यी २ वटा प्रश्नमा सहमत हुने जो कोहीका लागि नेकपा एमालेको ढोका सधैं खुला रहने स्पष्ट पारे ।
उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे समेत टिप्पणी गर्दै साझा व्यक्ति भएकाले अहिले पनि सोही भूमिकामा रहनु राम्रो हुने बताए । राजनीतिमा आउने हो भने पार्टीलाई कन्भिन्स गराउन सक्नुपर्ने पोखरेलको धारणा छ । ‘विद्यादेवी भण्डारीले राजनीतिमा सक्रिय हुने चाहना राख्नुभयो भने त्यसबारेमा पार्टीले थप निर्णय गर्नेछ,’ पोखरेलले स्पष्ट पारे ।
एमालेभित्र पछिल्लो समय ‘एकता र पुनर्मिलन’को बहस तीव्र बन्दै गएको छ । केही समयदेखि एमालेले पार्टी फुटाएर अलग भएका नेताहरूलाई ‘घर फर्किने अभियान’मार्फत पुन: पार्टीभित्र ल्याउने प्रयास गर्दै आएको छ । सो सन्दर्भमा उनले सबैलाई पार्टीमा फर्किन र जनताको बहुदलीय जनवादलाई स्वीकार गरेर अन्य पार्टीमा रहेकालाई पनि नेकपा एमाले आउन आग्रह गरे ।
नेतृत्वमा आउन चाहनेलाई पोखरेलले पार्टीको महाधिवेशन आएकाले त्यहाँ प्रतिस्पर्धा गरेर स्थापित हुन पनि आग्रह गरेका छन् ।




प्रतिक्रिया