जनकपुरधाम – मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालोमोसो दलेका छन् ।
शनिबार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखेका थिए ।
सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका छन् । रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेका सम्पूर्ण सांसदहरूलाई अपराधीको संज्ञा दिएका छन् ।
उनले ८ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थाबारे के छ भनेर प्रश्न गरेका थिए । उनले सरकारमा भएका बेथितिहरूका बारेमा प्रदेशसभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गराउँदा कतै कुनै सुनवाई नभएको आरोप लगाए ।
उनले आफ्नो पार्टीले अब आफूलाई जे गरे पनि आफूले कसैलाई विश्वासको मत नदिने बताए । सांसद अन्सारीले मधेश प्रदेशको कुनै सांसदसँग मधेशका समस्याहरूको निकाश दिने नैतिक आधार नरहेको बताए ।
सांसद अन्सारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् ।




प्रतिक्रिया