मधेश प्रदेश प्रमुखको कदमको चौतर्फी विरोध

मधेश प्रदेश प्रमुखको कदमको चौतर्फी विरोध

मोर्चाबन्दीमा सात दल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)का मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण गराएकी विषयको तीव्र विरोध भएको छ ।

स्वास्थ्य उपचारका जनकपुरधामबाट संघीय राजधानी जान लागेकी प्रदेश प्रमेख भण्डारीले महोत्तरीको बर्दिबासमा पानस कटेजमा सोमबार बिहान ४ बजे पुगिन्। र त्यहाँ यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी सपथ ग्रहण गराइन्।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मधेस प्रदेशसभाको ठूलो दल एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ।

जनकपुरधामको मधेस भवनबाट प्रदेश प्रमुख सहजै बाहिरिने वातावरण थिएन। कारण थियो, कांग्रेससहित सात दलका नेता कार्यकर्ताको भीडले मधेस भवन घेरिएको थियो। त्यहाँबाट सहज र सुरक्षित रूपमा बाहिरिन उनले निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनारलाई मधेस भवनमा बोलाइन्। र, भनिन्, ‘मेरो स्वास्थ्यमा समस्या भयो, उपचारका लागि काठमाण्डु जानुपर्ने भयो। उपचार गराएर फर्किएपछि संविधानतः सरकार निर्माणका लागि आह्वान गर्छु, ढुक्क हुनुहोस्।’

प्रदेश प्रमुखको आग्रह सोनलले सहजै स्वीकार गरे। र, मधेस भवन वरपरबाट नेता-कार्यकर्तालाई पन्छाएर प्रदेश प्रमुख भण्डारीलाई बाहिरिने बाटो बनाए ।

तर प्रदेश प्रमुख भण्डारीले बर्दिबास पुगेर यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिन् । यो खबर फैलिएपछि त्यसको सर्वत्र विरोध भएको हो ।

भण्डारीले आफूलाई गुमराहमा राखेको भन्दै सोनलले फेसबुकमा स्टाटस लेखे, ‘मधेश प्रदेशको जनतासँग धोका भयो। स्वास्थ्य उपचारको नाममा निस्किेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सीमानाको एउटा होटलमा प्रदेशको अस्मिता समाप्त पार्ने खेल गरिन। एक त महिला अर्कोे स्वास्थ्यको कुरा गरिन्।’

सोनलको यो स्ट्याटसपछि मधेशको राजनीति तरंगित भएको छ । उनको स्टाटस भाइरल भएपछि बर्दिवासको पानस कटेजमा नेता र कार्यकर्ताहरूले प्रदर्शन र नाराबाजी जारी गरे ।

यता, मधेस भवन जनकपुरधाम अगाडि पनि नाराबाजी र विरोध भएको छ।

घटनाको एमालेले पनि विरोध गरेको छ । एमाले मधेश प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले समेत प्रदेश प्रमुख भण्डारीको कदम गलत भएको टिप्पणी गरेका छन्।

महतोले पार्टीलाई पनि जानकारी नदिई बिहान ४ बजे शपथ गराउनु गलत अभ्यास भएको बताए ।

आइतबार साँझ प्रदेश प्रमुख भण्डारीले नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा, नेकपा (एकीकृत समाजवादी) , जनमत र जसपाका नेताहरूसँग सामूहिक छलफल संवैधानिक बाटो लिने प्रतिबद्धता जनाएकी थिइन्।

कांग्रेसका नेता गोविन्दराज पोखरेलले पनि नेपालको राजनीतिमा लाज भन्ने शब्द नभएको टिप्पणी गरेका छन्।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका उनले एक्समार्फत मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको प्रसंगमा यस्तो बताएका हुन्।

उनले लेखेका छन्, ‘मलाई आज एमालेकी कार्यकर्ता प्रदेश प्रमुख भण्डारीले होटलमा सुटुक्क एमाले नेतालाई मुख्यमन्त्री नियुक्त गरेको समाचार पढ्दा यो देशमा राजनीतिमा लाज भन्ने शब्द नै हुँदैन भन्ने कुरा यथार्थ रहेछ। प्रदेशमा समानुपातिक हटाउने, प्रदेश प्रमुख नराख्ने र ३–५ जना भन्दा बढी मन्त्री नराख्ने बनाऔँ।’

यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा भएको मुख्यमन्त्री नियुक्तिलाई प्रहसनको संज्ञा दिएका छन्।

‘मधेस प्रदेशमा भएको ‘अ–राजनीति दुःखद छ’ नागरिक पङ्क्तिमा सङ्घीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१६८ (२) को सरकार बन्ने सम्भावना छँदै, मञ्चन भएको प्रहसनलाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ।’

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्न माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त माग गरेका हुन‍्। डराएर सदियौं नेपाली शासकको गुलामी गरेको भन्दै उनले अब खुलेर बोल्न आह्वान गरेका छन् ।

मोर्चाबन्दीमा सात दल

प्रदेश प्रमुख भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलका नेताहरू आगामी रणनीति तय गर्नका लागि छलफलमा जुटेका छन्।

भण्डारीले संविधानलाई मिचेर एमालेका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बाँकी दलहरू असन्तुष्ट बनेका हुन्।

सोही असन्तुष्टि र प्रदेश प्रमुखको कदमविरुद्ध आगामी रणनीति बनाउन उनीहरू छलफलमा जुटेका हुन्। छलफलमा नेपाली कांग्रेस, जसपा–नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलहरू सहभागी भएका छन्।