राष्ट्रलाई संकटबाट बाहिर निकाल्न एमालेले भूमिका खेल्दैछ : महासचिव पोखरेल

राष्ट्रलाई संकटबाट बाहिर निकाल्न एमालेले भूमिका खेल्दैछ : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रलाई संकटबाट बाहिर निकाल्न नेकपा एमालेले सशक्त भूमिका खेल्दै आएको बताएका छन् ।

सोमबार राष्ट्रियसभा गृहमा आयोजित पार्टीको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा देश अप्ठ्यारोमा पर्दा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले सही बाटोमा ल्याउने काम गरेको दाबी गरे ।

नेपाली समाजलाई विखण्डनबाट जोगाउने होस् वा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान स्थापित गर्ने कुरामा एमालेले सधैं अगुवाइ गरेको उनले बताए ।

नेपालको राजनीतिक इतिहासमा देशको विकासमा सबैभन्दा प्रभावकारी काम गर्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार भएको पोखरेलले बताए । एमालेका अध्यक्ष मनमोहन अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई केपी ओली नेतृत्वको एमाले सरकारले विकास र विस्तार गरेको उनले स्मरण गराए ।

यो सच्चाइलाई बुझेर पार्टी छाडेर गएका नेताहरू एमालेमा फर्किएका उनले बताए । यो क्रम आजबाट सुरु भएको बताउँदै उनले अब निरन्तर रहने स्पष्ट पारे ।

भदौ २३ र २४ गतेको घटनाको सन्दर्भमा पोखरेलले नेपाली नवयुवालाई ढाल बनाएर विध्वंसात्मक कार्य गरिएको बताए । ‘२३ गते स्कूले बालबालिकालाई ढाल बनाएर मुलुकलाई कमजोर बनाउन जुन षडयन्त्र भयो, त्यो षडयन्त्र बाहिर ल्याउन जरुरी छ, विद्यालय गएका विद्यार्थीलाई स्कूल ड्रेसमा आन्दोलनमा ल्याउनु के षड्यन्त्र होइन ?’ उनले भने ।

भदौ २३ र २४ गते भएको षड्यन्त्रका योजनाकार र मतियारको पहिचान गर्न जरुरी रहेका उनले बताए । ‘आज सामाजिक सञ्जालमार्फत एकपछि अर्का दृश्य आउँदो षड्यन्त्र कति गहिरो रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ,’ उनले भने ।

अहिलेको अन्तरिम सरकार नियोजित रूपमा राजनीतिक दललाई कमजोर बनाउने षड्यन्त्रका साथ अघि बढिरहेको उनले बताए । राजनीति कहिल्यै पनि प्रतिशोधात्मक नहुने बताउँदै उनले अहिलेको सरकार प्रतिशोधको भावसहित अघि बढेको पोखरेलको भनाइ छ ।

‘यसले समाजलाई सही दिशा प्रदान गर्न सक्दैन भन्ने कुरा देखिएको छ, त्यसैले २३ र २४ गतेको घटनाले मुलुकलाई दशकौं पछाडि धकेलेको छ, त्यसैले विघटित भएको प्रतिनिधि सभालाई पुन:स्थापित गर्नुपर्छ भन्ने मान्यता हामीले राखेका छौं,’ उनले भने ।