काठमाण्डु – नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको बताएका छन् ।
नेकपा एमालेले सोमबार काठमाण्डुमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेतालाई स्वागत गर्दै ओलीले युवाहरूलाई एउटा परिस्थिति खडा गरेर मर्ने, मराउने काम भएको बताए ।
जेनजी आन्दोलनको नाममा देशलाई अँध्यारो बाटोमा लैजाने प्रयास भएको उनको भनाइ छ । ‘जेनजी आन्दोलनको नाममा सार्वभौमसत्ता सम्पन्न संसद् विघटन भएछ, नगर्नु पर्ने जति नराम्रा काम भएछन्, लोकतन्त्र विरोधी, जनमतलाई अनादर गर्ने सरकार बने छ,’ उनले भने ।
यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउनुपर्छ भनेर धेरै नेता, कार्यकर्ताहरू एमालेमा फर्किएका ओलीले बताए । यसले एमालेलाई थप ऊर्जा प्रदान गरेको ओलीले बताए । ‘बाहिर नेकपा एमाले सानो चित्त भएका, साँघुरो मन, सानो दिल भएको हल्ला चलाइरहेका छन्, यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने अवस्था छैन, फराकिलोसँग मजाले बस्न पाइने स्पेस छ । जुन पार्टी सबैभन्दा ठूलो छ, त्यसलाई काम गर्ने ठाउँ दिन कुनै समस्या छैन,’ उनले भने ।
हालै बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति लक्षित गर्दै उनले पार्टी बुढाखाडा र वरियता खोज्ने नेताहरूको मात्र पार्टी भएको टिप्पणी गरे । ‘ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ, अब १–२ जना थप्न बाँकी छ, उहाँहरूको, बागलुङ तिरका, कता कताका कोही कोही, त्यति भए कोरम पुग्छ,’ उनले भने ।
उनले नेकपा एमाले सबैभन्दा बढी युवा भएको पार्टी भएको बताए । एमालेसँग फेसबूकको युवा होइन, फिल्डमा काम गर्ने युवा भएको उनले दाबी गरे । नेकपा एमाले देश र जनताप्रति समर्पित संगठन भएको ओलीको भनाइ छ ।
आफैं युवा दस्ता बनाउनुपर्नेमा अरूको विश्वास गर्दा भदौ २३ र २४ गतेको घटना भएको ओलीले बताए । भदौ २३ र २४ को घटना सुनियोजित उपद्रो भएको उनको भनाइ छ । अब एमालेले टोलटोलमा सुरक्षा दस्ता बनाएर यस्ता घटना हुन नदिने उनले प्रतिबद्धता जनाए ।




प्रतिक्रिया