अदालतले मेरो नियुक्ति अवैधानिक ठहर्‍याए राजीनामा दिन्छु : मुख्यमन्त्री यादव

अदालतले मेरो नियुक्ति अवैधानिक ठहर्‍याए राजीनामा दिन्छु : मुख्यमन्त्री यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले अदालतले नियुक्तिविरुद्ध फैसला गरे राजीनामा दिन तयार रहेको स्पष्ट पारेका छन् ।

जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री यादवले आफूविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले जे फैसला गरे, त्यो मान्न तयार रहेको बताएका हुन् ।

मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति गलत रहेको आदेश दिए आफू एकछिन पनि पदमा नबस्ने बताए । उनले मधेश प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुखले संविधानमा उल्लेख बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको बताएका छन् ।

मुख्यमन्त्री यादवले प्रदेश प्रमुखको स्वाथ्यमा समस्या आएका कारण आफू स्वयंले नै आग्रह गरेर महोत्तरीको एक होटलमा शपथ ग्रहण गरेको बताए । उनले संविधानभन्दा बाहिर रहेको आफू र आफ्नो पार्टी नेकपा एमालेले कहिले कुनै काम नगरेको पनि दाबी गरे ।

प्रदेश प्रमुखलाई पदमुक्त गर्नुमा अहिलेको नयाँ सरकारले गरेको निर्णय मात्र रहेको र यसमा आफूलाई नजोड्न उनले आग्रह गरे । विभिन्न राजदूतहरूलाई पनि फिर्ता बोलाउने अहिलेको सरकारले गरेको निर्णय आफूलाई केही थाहा नभएको मुख्यमन्त्री यादवले बताए ।

पदभार कहिले ग्रहण गर्ने भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा मुख्यमन्त्री यादवले जेनजी आन्दोलनमा मुख्यमन्त्री कार्यालय क्षति भएकाले सचिवलाई मर्मत–सम्भार गरी कार्यायल सुचारु गर्ने वातावरण बनाउन आफूले निर्देशन दिएको बताए । उनले कार्यालय व्यवस्थापन हुनेबित्तिकै पदभार ग्रहण गरी नियमित कामकाज अगाडि बढाउने बताए ।