काठमाण्डु – यस वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । तर अघिल्लो वर्षभन्दा जनधनको क्षति कम भएको छ ।
यस वर्ष मनसुन सरदर अवधिभन्दा केही बढी अवधिसम्म रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सरदरभन्दा केही दिनअघि अगाडि नै अर्थात् यस वर्ष गएको जेठ १५ मा पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन एक सय ३५ दिन रहेर गएको असोज २४ गते बाहिरिएको थियो ।
विभागका अनुसार मनसुन अवधिमा एक हजार तीन सय ७५ दशमलव चार मिलिमिटर वर्षा भएको छ । जुन सरदर एक हजार चार १५ दशमलव पाँच मिलिमिटर वर्षाको तुलनामा ९७ दशमलव २३ प्रतिशत हो । औसतभन्दा बढी वर्षा भएपनि मानवीय तथा भौतिक क्षति विगत बर्षको तुलनामा कम भएको छ । मनसुनको अन्त्यतिर अर्थात् गएको असोज १७ देखि २० गतेसम्म बाढी र पहिरो र डुबानमा ५३ जनाको ज्यान गएको थियो ।
मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भयो । इलाममा मात्रै यस वर्षको मनसुनमा ३९ जनाले ज्यान गुमाए । सरकारले क्षतिग्रस्त इलाम र असाररसाउनमा खडेरी परेको मधेश प्रदेशका केही क्षेत्रलाई विपद् तथा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । प्रभावकारी पूर्वतयारी र प्रतिकार्य योजनाका कारण यस वर्ष मनसुन अवधिमा जनधनको क्षति कम भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ ।
प्राधिकरणका अनुसार गएको वर्ष समग्रमा दुई हजार १ सय ३९ विपद्का घटना हुँदा चार सय ९५ जनाको ज्यान गएको थियो । यस वर्ष एक हजार ४ सय ५४ घटनामा १ सय ४० जनाको ज्यान गएको छ ।




प्रतिक्रिया