काठमाण्डु – विश्व निमोनियाविरुद्धको दिवस बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदैछ । निमोनियाबारे चेतना फैलाउने कार्यक्रम र गतिविधिका साथै बालबालिकाको मृत्युदर घटाउने तथा निमोनिया रोकथाम एवम् सशक्त स्वास्थ्य प्रणालीमा जोड दिएर दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसको अवसरमा नेपाल सरकारले रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ । ‘बालबालिका बचाऔँ, सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवम् स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
निमोनिया बालबालिकाको ज्यान जाने प्रमुख कारणमध्ये एक हो । निमोनिया विशेषगरी फोक्सोसँग सम्बन्धित समस्या हो ।
डाक्टरका अनुसार भर्खर जन्मिएकादेखि दुई वर्षसम्मका शिशु, ६५ वर्ष वा त्योभन्दा बढी उमेर समूहका मानिस, कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्तिलगायतलाई यसको जोखिम उच्च हुन्छ ।
सरकारले निमोनिया नियन्त्रण तथा रोकथामका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउन, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्न र आम नागरिकलाई रोगको जोखिम र रोकथामबारे सचेत गराउनुपर्नेमा जोड दिएको छ ।
बसरी बच्ने ?
निमोनिया भनेको मुख्यतः फोक्सोसँग सम्बन्धित समस्या हो । यो समस्यामा हाम्रो एउटा वा दुईटै फोक्सोमा संक्रमण हुने गर्छ । यस्तो संक्रमण भाइरस, ब्याक्टेरिया वा ढुसी (फंगस)का कारणले हुने गर्छ ।
निमोनिया संक्रमण भएर त्यस्ता हावा थैलीहरु सुन्निन थालेपछि बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीपहरु भरिन थाल्छ । यस्तो अवस्थामा संक्रमितलाई सास फेर्न कठिनाई हुन थाल्छ ।
निमोनियाका उपचार त्यसको कारण र किसिम, त्यसको गम्भीरता र संक्रमित व्यक्तिको स्वास्थ्य अवस्थामा भर पर्दछ । समस्याको मूल कारणको पहिचान तथा विरामीको स्वास्थ्य अवस्थाको आँकलनको आधारमा चिकित्सकले औषधी सिफारिश गर्न सक्छन् ।
सामान्यतः व्याक्टेरियाका कारण हुने निमोनियामा खाने एन्टिबायोटिक चलाइने गरिन्छ । चिकित्सकले सिफारिश गरेको औषधीको पूरै मात्रा सेवन गर्नुपर्छ । बीचमा आफूलाई निको भएको महसूस गरेर औषधी खान रोक्नु हुँदैन । त्यसरी बीचैमा औषधी छाड्ने गरियो भने पछि रोग बल्झिएर समस्या झनै गम्भीर हुन सक्छ र उपचार गर्न झनै कठिन हुने स्थिति आउन सक्छ ।
बच्ने उपायहरु
–धूमपान, मद्यपान, लागू औषधहरुको सेवन त्याग्ने ।
–आफ्ना हात नियमित रुपमा साबुन पानीले धुने ।
–खोक्दा–हाँच्छिउ गर्दा सधैं मुख ढाक्ने ।
–स्वस्थकर जीवनयापन गर्ने । शरीरको रोग प्रतिरोधी क्षमता बढाउने खानेकुराहरुको सेवन गर्ने ।
–नियमित योगा–व्यायाम गर्ने ।




प्रतिक्रिया