बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर गरिएको मानवताविरुद्धको अपराधको मुद्दाको अन्तिम सुनुवाइ बिहीबार हुँदैछ ।

राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले हसिनाविरुद्ध दायर गरिएको मानवताविरुद्धको अपराधको मुद्दामा बिहीबार सुनुवाइ गर्न लागेको हो ।

सरकारी वकिलले हसिनाविरुद्ध पाँच वटा गम्भीर आरोप लगाएका छन्, जसमध्ये सबैभन्दा गम्भीर हत्या, अपराध रोक्न असफलता र मानवताविरुद्धको अपराध हुन् ।

यो मुद्दाका अन्य दुई आरोपीहरू पूर्व गृहमन्त्री असदुज्जामान खान र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल–मामुन पनि छन् ।

सरकारी वकिलले उनलाई मृत्युदण्डको माग गरेका छन् । हसिनाको पार्टी अवामी लिगले बिहीबार दिनभर देशव्यापी तालाबन्दीको घोषणा गरेको छ ।

मुद्दालाई लिएर बढ्दो तनावका कारण बंगलादेशमा उच्च सतर्कता अपनाइएको छ । देशभरीका विमानस्थल र प्रमुख भवनहरूमा प्रहरी र सैन्य तैनाथी बढाइएको छ ।

यी घटनाहरू २०२४ अगस्त ५ मा सुरु भएका थिए, जब बंगलादेशमा शेख हसिनाको सरकार अपदस्थ गरियो । कू हुनुभन्दा अगाडि र त्यसपछि देशभरि ठूलो विरोध प्रदर्शन, आगजनी र हिंसा भएको थियो ।

सरकारमाथि प्रदर्शनकारी विद्यार्थीहरूलाई पक्राउ गरेको, यातना दिएको र गोली चलाएको आरोप छ । हिंसा बढ्दै जाँदा शेख हसिना देश छोडेर भागेर भारतमा शरण लिन पुगेकी थिइन् ।

त्यसपछि, बंगलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले उनीविरुद्ध मुद्दा दायर भएको थियो । अदालतले उनलाई देश फर्कन र मुद्दामा उपस्थित हुन आदेश दिएको थियो तर उनले अस्वीकार गरिन् ।

२०२४ अगस्त ५ मा अवामी लीग सरकार पतन भएपछि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण पुनर्गठित गरिएको थियो ।

पुनर्गठित न्यायाधिकरणमा दर्ता भएको पहिलो मुद्दा शेख हसिनासँग सम्बन्धित छ, जसमा जुलाई विद्रोहका क्रममा मानवअधिकारविरुद्धका अपराधका आरोप लगाइएको थियो ।