काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको उपस्थितिमा बिहीबार प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरेको छ ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मका प्रहरी कर्मचारी र तिनका आश्रित परिवारहरूलाई आकस्मिक अवस्था (स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत) मा तत्कालको आवश्यकता पूर्ति गर्नका लागि किस्ताबन्दी कर्जा कार्यक्रमअन्तर्गत १ वर्षभित्र चुक्ता गर्ने गरी ५% ब्याजदरमा आकस्मिक सहुलियत अल्पकालीन कर्जा रकम २ लाख रूपैयाँसम्म उपलब्ध गराउने निर्णय गरिएको छ ।
कर्जा रकम उपलब्ध गराउन प्रहरी कल्याण कोषबाट चालू आर्थिक वर्ष २०८२/०८३ मा अधिकतम १० करोड रुपैयाँसम्मको कोष खडा गरी नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबाट आवश्यक मापदण्ड बनाई कर्जा प्रवाह गर्ने निर्णय गरिएको छ ।
नवनियुक्त आईजीपी कार्कीले बिहीबारै पदभार ग्रहण गरेका छन् ।




प्रतिक्रिया