काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सबै तयारी पूरा भएको घोषणा गरेको छ ।
प्रतियोगिता पर्सि सोमबारदेखि मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका सबै आवश्यक तयारी सकिएको जानकारी दिए ।
यस वर्षको एनपीएलमा ८ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच हुनेछ ।
यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगिताका विजेताले १ करोड १० लाख रुपैयाँ पाउनेछन् । उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ र चौथो स्थान हासिल गर्नेले १५ लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।
एनपीएललाई नियमित रूपमा व्यावसायिक लीगका रूपमा अघि बढाउने लक्ष्यसहित क्यानले यसपटक प्रतियोगिता आयोजना गरेको छ ।




प्रतिक्रिया