पर्सा – अनलाइनमार्फत ठगी गर्ने समूहमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ मुसैलीका ३५ वर्षीय कृष्णप्रसाद साह, १४ वर्षीय बालक र बारा विश्रामपुर गाउँपालिका–१ का २१ वर्षीय राहुल मण्डल छन् ।
उनीहरूले वीरगञ्ज महानगरपालिका–८ क्षेत्रमा बसेर सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाई बैंकहरूको मनी मोल एकाउन्ट खोल्ने काम गराएको प्रहरीले जनाएको छ । त्यसपछि सोही खातामा सामाजिक सञ्जालमार्फत फिसिङ, ओटीपी फ्रड, जव स्क्याम, फेक अनलाइन बिजनेस स्क्याम जस्ता विधि अपनाई ठगी गर्दै आएको पर्सा प्रहरीले जनाएको छ ।
यसबाहेक एआई प्रयोग गरी विभिन्न कम्पनीका लागि आवश्यक पर्ने कागजात जालसाजी गरी अर्डर बिल बनाएर पनि ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीले उनीहरूको साथबाट ४३ थान एटीएम कार्ड बरामद गरेको छ ।
उनीहरूले विभिन्न व्यक्तिको बैंक खाता र डिजिटल वालेट प्रयोग गरी करीब १० करोड रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको पनि अनुसन्धानमा पत्ता लागेको छ ।
उनीहरूविरुद्ध बैंकिङ कसूर सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ । घटनामा थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया