काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ११औं ‘ग्लोबल आईसीटी लिडरशिप फोरम’मा सहभागी भएर स्वदेश फिर्ता भएका छन् ।
उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक २५ गते दक्षिण कोरिया प्रस्थान गरेकामा उनी शनिबार स्वदेश फर्किएका हुन् ।
कोरियाको विज्ञान तथा आईसीटी मन्त्रालय (एमएसआईटी) र नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआईए) को संयुक्त आयोजनामा सिओलमा फोरम भएको थियो ।
फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसनका रणनीति र चुनौती तथा दीगो डिजिटल भविष्यका लागि वैश्विक सहकार्य विषयमा २ अलग–अलग सत्रहरू चलेका थिए । मन्त्री खरेलले फोरम डिजिटल नेपाल र डिजिटल परिवर्तनका लक्ष्य पूरा गर्न उपयोगी र फलदायी भएको बताएका छन् ।
नेपालले एआई नीति बनाइसकेको, राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको र एआई काउन्सिल गठन प्रक्रियामा रहेको वर्तमान अवस्थामा फोरमले थप ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने अवसर दिएको जनाइएको छ ।
दक्षिण कोरियामा भ्रमणका क्रममा मन्त्री खरेलले सिओल एआई फाउन्डेसनद्वारा सञ्चालन हुने ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’ र सिओलस्थित नेपाली दूतावासको अवलोकन गरेका छन् ।
फोरममा नेपालसहित भुटान, श्रीलंका, पाकिस्तान, कम्बोडिया, लाओस, भियतनाम, काजकिस्तान, मङ्गोलिया र उजबेकिस्तानका मन्त्री तथा वरिष्ठ नीति–निर्माताहरू सहभागी भएका थिए । एशिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोग (युनेस्को) लगायतका अन्तर्राष्ट्रिय निकायहरूको उपस्थिति थियो ।




प्रतिक्रिया