असोजमा कीर्तिमानी रुपमा भित्रियो रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ११.३ प्रतिशतले बढ्यो

असोजमा कीर्तिमानी रुपमा भित्रियो रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ११.३ प्रतिशतले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– असोज महिनामा २ खर्ब रुपैयाँभन्दा बढी रकम नेपाल आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

जुन चालु आर्थिक वर्षको भदौको तुलनामा करिब ७९ प्रतिशतले वृद्धि भएको रकम हो। गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो।

चालु आर्थिक वर्षका पहिलो तीन महीना (साउन–असोज)मा मात्रै ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

यो रकम गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३५.४ प्रतिशतले धेरै हो। गत वर्ष साउनदेखि असोजसम्म ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ११.९ प्रतिशत ले बढी थियो।

यस्तै नेपालको विदेशी मुद्रा सञ्चिति ११.३ प्रतिशतले बढेको छ।

गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति उक्त दरले बढेर असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ।

तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.० प्रतिशत (२ खर्ब १८ अर्ब ७२ करोड) ले वृद्धि भएको छ।

बैंक तथा वित्तहरुले यो अवधिमा कुल निक्षेप ७४ खर्ब ८२ अर्ब ५९ करोड पुर्‍याएका हुन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.६ प्रतिशत (१ खर्ब ७० अर्ब) ले बढेको थियो।

कर्जा प्रवाहतर्फ यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशत (८२ अर्ब ९३ करोड) ले बढाएका छन्। उनीहरुले ३ महिनामा कर्जा प्रवाह ५५ खर्ब ८० अर्ब ६४ करोड पुर्‍याएका हुन्।