काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आईतबार गृह मन्त्रालयमा आयोजित गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित एसएमटी बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरूले एक्टिभिस्ट जसरी आ–आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिए ।
‘अहिलेको सरकार भनेको निर्वाचनको सरकार भएकाले हामीलाई पुरानै संरचना र ऐन–नियममा रहेरभन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मुलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिश्चितता कायम गर्ने गरी जिम्मेवारी बहन गर्न निर्देश गर्दछु,’ मन्त्री अर्यालले बैठकमा भने ।
मन्त्री अर्यालले विभागीय प्रमुखहरूलाई आ–आफ्नो मातहतका कार्यालयहरूको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न निर्देशन गर्दै भने, ‘बढीभन्दा बढी कर्मचारीहरूले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूति महसूस गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन गर्दछु ।’
उनले गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समिति र पीडितहरूका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिए मात्रै बाहिर अरुले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई मन्त्रालयले चिर्न समेत मातहतका निकायलाई निर्देशन दिए ।
बैठकमा गृहमन्त्री अर्यालले घाइतेहरूको राहत कार्यविधि छिट्टै टुंग्याउने र जेनजी घाइतेहरूलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत आदेश दिए ।
गृहसचिव रामेश्वर दंगाले मन्त्रालयले आफू मातहतका कर्मचारीहरूले गरेको कार्यसम्पादनमा आफू सन्तुष्ट नै रहेको र मन्त्रालयको जिम्मवारी सम्हालेपछि दर्जन बढी नियमावलीहरू जस्तै राष्ट्रिय परिचयपत्र नियमावली, सशत्र प्रहरी नियमावली लगायत संशोधन भइसकेका र नागरिकता नियमावली पनि अन्तिम चरणमा पुगेको बैठकमा जानकारी दिए ।
सचिव दंगालले मातहतका प्रमुखहरूलाई मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न पनि निर्देशन दिए । भदौ २३ गतेको घटनापछि मन्त्रालयमा काम गर्ने शैलीमा हिजोभन्दा आज आकाश जमिनको फरक आएको बताउँदै कर्मचारीहरूलाई त्यसै अनुरूपको भावना कायम राख्न निर्देशन दिए ।
बैठकमा मन्त्रालयअन्तर्गत रहेका विभागीय प्रमुख, महाशाखा र शाखा प्रमुखहरूले आफ्नो क्षेत्रका प्रगति र वस्तुस्थितिबारे जानकारी गराएका थिए ।




प्रतिक्रिया