काठमाण्डु – नेपाली सेना र अमेरिकी सेनाबीच हुने ल्याण्ड फोर्स टक बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ।
नेपालमा सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि पहिलोपटक अमेरिकी सेनासँग प्रत्यक्ष द्विपक्षीय सैन्य संवाद काठमाडौंमै सुरु हुन लागेको हो। बैठक शुक्रबार समापन हुनेछ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार टकमा मुख्यतः दुवै देशका सेनाबीच अनुभव आदान–प्रदान, मानविय सहयोग तथा विपद् व्यवस्थापन सम्बन्धी विषयमा विस्तृत छलफल हुनेछ।
२०७५ सालदेखि नेपाल–अमेरिका सेनाबीच सुरु भएको ल्याण्ड फोर्स टक तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाका पालामा आरम्भ भएको हो। पहिलो टकमा अमेरिकी सेनाका मेजर जनरल रोजर जे. नोबल र नेपाली सेनाका उपरथी जगदीशचन्द्र पोखरेल सहभागी भएका थिए।
यस वर्ष काठमाडौंमा हुने छलफलमा नेपाली सेनाको तर्फबाट उपरथी पवन घिमिरेले नेतृत्व गर्नेछन्। कार्यक्रममा परराष्ट्र, रक्षा तथा अर्थ मन्त्रालयका सहसचिव तथा उपसचिवस्तरका अधिकारीहरूको समेत सहभागिता रहनेछ।
यसअघि काठमाण्डौंमा भएको द्विपक्षीय सैन्य छलफलमा हालका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी भएका थिए।
ल्याण्ड फोर्स टक हरेक वर्ष नेपाल र अमेरिकामा पालैपालो आयोजना हुँदै आएको छ। यस्ता उच्चस्तरीय छलफलहरूले दुई देशबीचको सैन्य सम्बन्ध र आपसी सहयोग अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
यसपटकका एजेन्डामा विपद् व्यवस्थापन, शान्ति सेनामा खटिने नेपाली सैनिकलाई सहयोग, हेलिकोप्टर तथा प्राविधिक सहयोग लगायतका विषय रहेका छन्। छलफलमा शान्ति स्थापना कार्यमा खटिने नेपाली सैनिकका लागि आवश्यक उपकरण सहयोग, साथै बारा र पाँचखालस्थित तालिम केन्द्रका पूर्वाधार निर्माणमा अमेरिकी सहयोगका प्रस्ताव पनि छन्।
अमेरिकाले यसअघि पनि नेपाल सेनालाई दुईवटा हेलिकोप्टर सहयोग प्रदान गरेको थियो।




प्रतिक्रिया