एनपीएलको उद्घाटन २ बजे, यस्तो छ पहिलो खेल खेल्ने जनकपुर र काठमाण्डुको सम्भावित प्लेइङ-११

एनपीएलको उद्घाटन २ बजे, यस्तो छ पहिलो खेल खेल्ने जनकपुर र काठमाण्डुको सम्भावित प्लेइङ-११

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सोमबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरू हुँदैछ । प्रतियोगिताको शुभारम्भ दिउँसो २ बजे हुनेछ भने पहिलो खेल ४ बजे हुनेछ ।

मंसिर २७ गतेसम्म चल्ने हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन् ।

प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् । लिग चरणको अन्तिम खेल मङ्सिर २१ गते हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीलाई पुरस्कारस्वरूप १ करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले ५१ लाख रुपैयाँ, तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ तथा चौथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।

यस पटक दैनिक ९ हजार चार सय ५० टिकट बिक्री गर्ने क्यानले जनाएको छ ।

जनकपुर र काठमाण्डुको सम्भावित प्लेइङ–११

पहिलो संस्करणको खेलमा जनकपुरले काठमाण्डुलाई सहजै हराएको थियो। यसपटक पनि जनकपुरले काठमाण्डुलाई हराउने उद्देश्यका साथ मैदानमा उत्रनेछ। त्यसो त काठमाडौं पनि अघिल्लो संस्करणको हारको बदला लिंदै जित हासिल गर्न चाहन्छ।

यस्तै पहिलो संस्करणमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु दासानायकेको नेतृत्वमा रहेको जनकपुर यस संस्करणमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको प्रशिक्षणमा मैदानमा उत्रिंदैछ।

दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल जनकपुरले प्रतियोगिताका निम्ति भित्र्याएका चर्चित नाम हुन्। यी दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन्। यस्तै, पहिलो संस्करणको उद्घाटन र फाइनल खेलमा अर्धशतक बनाएका लाहिरु मिलान्थालाई जनकपुरले यसपटक पनि निरन्तरता दिएको छ।

यसबाहेक, सञ्जय कृष्णमुर्ती (अमेरिका) र निकोल लोफ्टी इटोन (नामिबिया) हालसम्म जनकपुरबाट खेल्ने निश्चित भएका अन्य दुई नाम हुन्। यसअघि न्युजिल्यान्डका चर्चित अलराउन्डर जिम्मी निसमको साथ पाएको जनकपुरमा यसपटक भने उनको उपस्थिति रहने छैन।

त्यसैगरी काठमाण्डुले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको भूमिकामा नियुक्त गरेको छ। मोन्टी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षकसमेत हुन्।

आसन्न एनपिएलमा काठमाण्डु विदेशी खेलाडीको कोटा पूरा गर्ने पहिलो टोली हो। टोलीले पहिलो विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको थियो।

त्यसपछि स्कटल्यान्डका जेरहार्ड इरस्मससँग सम्झौता नवीकरण गरेको थियो। अमेरिकी अलराउन्डर मिलिन्ड कुमार, भारतीय मूलका अमेरिकी खेलाडी सन्नी पटेल र इङ्ल्यान्डका खेलाडीद्वय बेन चाल्र्सवर्थ र जोन सिम्पसन पनि टोलीमा जोडिएका छन्।

काठमाण्डुले मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ। यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई भित्र्याइएको थियो।

दोस्रो संस्करणको जनकपुरको टोलीमा मार्की खेलाडी आसिफ शेखसहित अनिलकुमार साह, जान निकोल लोफ्टी इटोन, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, इमरान ताहिर, तुलबहादुर थापामगर, मयन यादव, आदित्य मेहता, विकास अग्री, सचिन भट्ट, लाहिरु मिलान्था, वायने पार्नेल र सञ्जय कृष्णमुर्ती छन्।