काठमाण्डु– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ ।
सोमबार हसिनालाई मानवअधिकारविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको हो।
गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो ।
राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले हसिनाविरुद्ध पाँच वटा गम्भीर आरोप लगाएका छन्, जसमध्ये सबैभन्दा गम्भीर हत्या, अपराध रोक्न असफलता र मानवताविरुद्धको अपराध हुन् ।
फैसलालाई लिएर बढ्दो तनावका कारण बंगलादेशमा उच्च सतर्कता अपनाइएको छ । देशभरीका विमानस्थल र प्रमुख भवनहरूमा प्रहरी र सैन्य तैनाथी बढाइएको छ ।
सरकारले उच्च सतर्कताको घोषणा गरेको छ। ढाकामा १५,००० प्रहरी परिचालन गरिएको छ। उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ।
यी घटनाहरू २०२४ अगस्त ५ मा सुरु भएका थिए, जब बंगलादेशमा शेख हसिनाको सरकार अपदस्थ गरियो । कू हुनुभन्दा अगाडि र त्यसपछि देशभरि ठूलो विरोध प्रदर्शन, आगजनी र हिंसा भएको थियो ।
सरकारमाथि प्रदर्शनकारी विद्यार्थीहरूलाई पक्राउ गरेको, यातना दिएको र गोली चलाएको आरोप छ । हिंसा बढ्दै जाँदा शेख हसिना देश छोडेर भागेर भारतमा शरण लिन पुगेकी थिइन् ।
त्यसपछि, बंगलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले उनीविरुद्ध मुद्दा दायर भएको थियो । अदालतले उनलाई देश फर्कन र मुद्दामा उपस्थित हुन आदेश दिएको थियो तर उनले अस्वीकार गरिन् ।
२०२४ अगस्त ५ मा अवामी लीग सरकार पतन भएपछि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण पुनर्गठित गरिएको थियो ।
पुनर्गठित न्यायाधिकरणमा दर्ता भएको पहिलो मुद्दा शेख हसिनासँग सम्बन्धित छ, जसमा जुलाई विद्रोहका क्रममा मानवअधिकारविरुद्धका अपराधका आरोप लगाइएको थियो ।




प्रतिक्रिया