नेपाली र अमेरिकी सेनाबीच आजदेखि ल्याण्ड फोर्स टक हुँदै

नेपाली र अमेरिकी सेनाबीच आजदेखि ल्याण्ड फोर्स टक हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेना र अमेरिकी सेनाबीच बुधबारदेखि काठमाण्डुमा छैटौं संस्करणको ल्याण्ड फोर्स टक हुँदैछ ।

ल्यान्डफोर्स टकमा सहभागी हुन अमेरिकी सेना नेतृत्वको उच्चस्तरीय टोली मंगलबार साँझ काठमाण्डु आइपुगेको छ। अमेरिकी सेनाका ल्याफ्टिनेन्ट जनरल स्कट एलेक्जान्डर विटरको नेतृत्वमा तीन सदस्यीय टोली काठमाण्डु आइपुगेका हुन्। अन्य दुई सदस्यमा सारा जेनेट अल्बर्सन र एडवर्ड जेन्स डोना छन्।

नेपालमा सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि पहिलोपटक अमेरिकी सेनासँग प्रत्यक्ष द्विपक्षीय सैन्य संवाद हुन लागेको हो। ल्यान्डफोर्स टक शुक्रबारसम्म चल्ने छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार ल्यान्डफोर्स टकमा मुख्यतः दुवै देशका सेनाबीच अनुभव आदान–प्रदान, मानवीय सहयोग तथा विपद् व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत छलफल हुनेछ।

२०७५ सालदेखि नेपाल–अमेरिका सेनाबीच सुरु भएको ल्याण्ड फोर्स टक तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाका पालामा आरम्भ भएको हो। पहिलो टकमा अमेरिकी सेनाका मेजर जनरल रोजर जे. नोबल र नेपाली सेनाका उपरथी जगदीशचन्द्र पोखरेल सहभागी भएका थिए।

बुधबारदेखि हुन लागेको ल्यान्डफोर्स टकमा नेपाली सेनाको तर्फबाट उपरथी पवन घिमिरेले नेतृत्व गर्नेछन्। परराष्ट्र, रक्षा तथा अर्थ मन्त्रालयका सहसचिव तथा उपसचिवस्तरका अधिकारीहरूको समेत सहभागिता रहनेछ।

यसअघि काठमाण्डुमा भएको द्विपक्षीय सैन्य छलफलमा हालका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी भएका थिए।

ल्याण्ड फोर्स टक हरेक वर्ष नेपाल र अमेरिकामा पालैपालो आयोजना हुँदै आएको छ। यस्ता उच्चस्तरीय छलफलहरूले दुई देशबीचको सैन्य सम्बन्ध र आपसी सहयोग अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

यसपटकका विपद् व्यवस्थापन, शान्ति सेनामा खटिने नेपाली सैनिकलाई सहयोग, हेलिकोप्टर तथा प्राविधिक सहयोग लगायतका विषय छलफल हुनेछ । यस्तै शान्ति स्थापना कार्यमा खटिने नेपाली सैनिकका लागि आवश्यक उपकरण सहयोग, साथै बारा र पाँचखालस्थित तालिम केन्द्रका पूर्वाधार निर्माणमा अमेरिकी सहयोगका प्रस्ताव पनि छन्।

अमेरिकाले यसअघि पनि नेपाल सेनालाई दुईवटा हेलिकोप्टर सहयोग प्रदान गरेको थियो।