काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर ७ ग्राम २०० मिलिग्रामसहित धनुषाको नगराइन नगरपालिका–९ घोरघास बस्ने ३२ वर्षीय पंकज कुमार ठाकुरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले धनुषाबाट काठमाण्डुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ८७८२ नम्बरको हायसमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
बाराको फेटा गाउँपालिका–१ त्रिबेणीबाट अवैध लागूऔषध ब्राउन सुगर करीब ३० ग्राम ८७० मिलिग्रामसहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा फेटा गाउँपालिका–१ त्रिबेणी बस्ने ४२ वर्षीय कृष्ण महतो, ३२ वर्षीय लालु कुमार बैठा, ३६ वर्षीय लालु साह, बारा निजगढ नगरपालिका–८ निजगढ बस्ने ४० वर्षीय राज कुमार लामा र सोही नगरपालिका–७ बस्ने २५ वर्षीय अविशेक श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालय प्रसौनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले कृष्णको घरतलासी गर्दा लागूपदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।
धादिङको धुनिवेशी नगरपालिका–६ चालिसेबाट अवैध लागूऔषध ब्राउनसुगर करीब १० ग्राम १०० सहित धुनिवेशी नगरपालिका–८ कोइरालीटार बस्ने रामेछापको रामेछाप नगरपालिका–७ रामपुर घर भएका ४५ वर्षीय मानदास तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
थप अनुसन्धानको क्रममा उनी बस्ने कोठा तलासी गर्दा थप अवैध लागूऔषध ब्राउनसुगर करीब २ ग्राम ७२० मिलिग्राम र गाँजा २८८ ग्राम ९१० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ ।
लागूऔषध सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया