बाजुरा – बाजुरा जिल्लाको हिमाली गाउँपालिका–६ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन निर्माणमा भ्रष्टाचार र अनियमिता भएको ठहर गर्दै स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणमा गम्भीर अनियमितता र भ्रष्टाचार भएको आरोपमा सम्बन्धित जिम्मेवार व्यक्तिहरूविरुद्ध विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको हो ।
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोक सिंह, शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनीयर सुनेश कुमार चौरसिया, तत्कालीन सबइन्जिनीयर नरेश रावतविरुद्ध मुद्दा दायर भएको छ ।
प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीको मिलेमतोमा भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ । प्रसूति केन्द्रको भवन निर्माण कार्य लागत अनुमान अनुसार नगरी बढी भुक्तानी गरी रकम हिनामिना गरेको खुलेको छ ।
आव ०७५/७६ मा प्रसूति केन्द्र भवन निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराबाट २० लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २०६ रुपैयाँ व्यहोर्ने गरी कन्टेन्जेन्सीसहित २६ लाख १५ हजार २०६ रुपैयाँमा २०७६ जेठ मसान्तभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
लागत अनुमानमा उल्लेखित दररेटमा नै झूटा बिल भरपाइका आधारमा पूरै भुक्तानी लिएको अख्तियारले जनाएको छ । लागत अनुमानबमोजिम आल्मुनियमको झ्याल ढोकाको फ्रेम र सटर सहित हुनुपर्नेमा लोकल काठको चौकोस मात्र जडान गरेको पाइएको छ । उनीहरूविरुद्ध जनही १५ लाख ८ हजार ५५७ रुपैयाँ बिगो कायम गरिएको छ ।
गैरकानूनी लाभ लिने उद्देश्यले झूटा विवरण पेश गरी भुक्तानी लिएको र सार्वजनिक संरचनालाई प्रयोगविहीन बनाइ गम्भीर भ्रष्टाचारको काम गरेको हुँदा कानूनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।




प्रतिक्रिया