कोशी प्रदेशमा मदरसा शिक्षा बोर्ड माग्दै मुस्लिम समुदाय

कोशी प्रदेशमा मदरसा शिक्षा बोर्ड माग्दै मुस्लिम समुदाय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ विराटनगरले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएको छ ।

समाजका संयोजक साहेब अहमद नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठनका लागि प्रदेश सरकारसँग माग राखेको हो ।

ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरी लगायत जिल्लामा करीब ३५० भन्दा बढी मदरसा तथा इस्लामी शिक्षण संस्थाहरू सञ्चालनमा रहेको उल्लेख गरिएको छ । यी संस्थाहरूले मुस्लिम समुदायका बालबालिकालाई धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पाठ्यक्रमअनुसार शिक्षा प्रदान गर्दै आए पनि आवश्यक संरचना, नीति तथा सरकारी समन्वयको अभावले सहज रूपमा काम गर्न कठिन भइरहेको समाजले जनाएको छ ।

समाजले संविधानले धार्मिक तथा सांस्कृतिक शिक्षा प्राप्त गर्ने हक सुनिश्चित गरेको र राष्ट्रिय शिक्षा नीति २०७६ ले मदरसा शिक्षालाई मूलधारमा ल्याउने नीतिगत आधार प्रदान गरेको भन्दै प्रदेश सरकारले यसलाई व्यावहारिक रूपमा अघि बढाउनुपर्ने माग राखेको छ ।

ज्ञापन पत्रमा ५ बुँदे माग समेटिएको छ । ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले मुस्लिम समुदायको मागलाई आफूले गम्भीर रूपमा लिएको बताउँदै त्यसलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिए । उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै प्रदेश सरकार सबै धर्म, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।