काठमाण्डु – हङ्कङमा अग्ला आवासीय भवनहरूमा फैलिएको विनाशकारी आगलागीका कारण मृतकको संख्या बढेको छ।
हङ्कङको अग्निनियन्त्रक विभागलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाहरूले घटनामा मृत्यु हुनेहरूको सङ्ख्या ९४ पुगेको उल्लेख गरेका छन्।
अहिलेसम्म ७६ जना घाइते भएका छन्। जसमा १० जना अग्निनियन्त्रकहरू पनि छन्। ती भवनहरूमा अझै केही मानिस फसेका छन् भने ३०० भन्दा बढी मानिसको अवस्था थाहा छैन।
विगत ७० वर्षयता यहाँ भएको आगलागीमध्ये यसलाई सबैभन्दा भीषण मानिएको छ।
सयौँ अग्निनियन्त्रकहरू आगो निभाउने प्रयासमा लागेका छन्। वाङ्फुक कोर्टस्थित प्रभावित सातमध्ये चारवटा भवनमा आगो नियन्त्रणमा आइसकेको छ। आवासीय भवनहरू भएको उक्त क्षेत्रमा बुधवार दिउँसो आगो फैलिँदा मर्मतसम्भारको काम हुँदै थियो।
आगलागीको स्पष्ट कारण थाहा भइसकेको छैन। तर प्रहरीले ती भवनहरूबाहिर भएका वस्तुका कारण आगो चाँडै फैलिएको जनाएको छ। प्रहरीले निर्माण कम्पनीका तीन अधिकारीहरूलाई मनसायरहित हत्या र गम्भीर लापरबाही गरेको आशङ्कामा पक्राउ गरेको छ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले आगो निभाउन खटिएका एक अग्निनियन्त्रक सहित पीडितहरूप्रति समवेदना प्रकट गरेका छन् ।
सन् २०२१ को जनगणनाअनुसार ती बहुतले भवनहरूमा १,९८४ वटा अपार्टमन्ट थिए। तिनमा ४,६०० मानिसहरू बस्थे। सन् १९८३ मा बनाइएका ती भवनहरूमा मर्मत चलिरहेको थियो। करिब ७६७ अग्निनियन्त्रकका साथै १२८ दमकल, ५७ एम्बुलेन्स तथा करिब ४०० प्रहरी त्यहाँ खटाइएका छन्।




प्रतिक्रिया