फागुन २१ मा निर्वाचन भएन भने अवस्था थप बिग्रिन सक्छ

फागुन २१ मा निर्वाचन भएन भने अवस्था थप बिग्रिन सक्छ

सरकारको मूल दायित्व निर्वाचन नै हो । निर्वाचनको लागि सुरक्षा थ्रेट देखिदैन ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा पछिल्लो समय नयाँ राजनीतिक दलहरु खुल्ने क्रम चलिरहेको छ । पुराना भनिएका दलहरू आन्तरिक निर्वाचनको तयारीमा छन् । तर सरकारले फागुन २१ लाई तोकेको प्रतिनिधिसभा निर्वाचनको वातावरण अझै बनिसकेको छैन् ।

यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )को आगामी योजना र समसामयिक राजनीतिका बारेमा पार्टीका महासचिव कविद्र वुर्लाकोटीसँग गरिएको कुराकानी–

जेनजी आन्दोलनपछिको नेपाली राजनीति कस्तो अवस्थामा छ जस्तो लाग्छ ?

जेनजी आन्दोलनपछि राजनीति असाध्यै तरल थियो । विशेषगरी भदौको २५, २६, २७, २८ गतेसम्म असाध्यै तरल थियो, जब नागरिक सरकार गठनको प्रक्रिया सुरु भयो, त्यसपछाडि अलिकति थेग्रिएको अवस्था छ ।

चुनाव गर्नुपर्ने जुन एउटा अवस्था हो, त्यो अलिकति परिपक्व पुगेको जस्तो देखिन्छ । चुनाव समयमै भएको खण्डमा राजनीति एउटा ट्रयाकमा आउँछ, यदी भएन भने अवस्था थप बिग्रिन सक्छ ।

अन्तरिम सरकार बनेपछि अवस्था सहज भएको भनिएपनि जनता त सन्तुष्ट देखिदैनन् नि ?

राजनीतिक दलहरूले चलाउने सरकारसँग त जनता सन्तुष्ट थिएनन् । यस्तो अवस्थामा नागरिक सरकारसँग पूरै सन्तुष्ट छन् भनिहाल्न सकिदैन् । मैले सरकारको बचाउ गर्न खोजेको होइन, तर यो सरकारको अहिलेको दायित्व भनेको चाहीं चुनाव गराउने हो ।

चुनाव गराउने सन्दर्भमा नागरिकका जिज्ञासाहरूको जवाफ दिन पनि सक्नुपर्छ । नागरिकका जिज्ञासाहरूलाई सन्तुष्ट पार्न सक्नुपर्छ । सरकारको एउटा मूलभूत उद्देश्य भनेको निर्वाचन गराउने हो । तर निर्वाचन गराउने अवधिसम्म त यो सरकार फेरि सत्तामा रहन्छ नि त ।

त्यस अवधिसम्म सरकारले सुशासन, समृद्धि, सामान्य नागरिकका डेली लाइफमा पर्ने सुविधा डेलिभरी गर्ने कुराहरुमा काम गर्न सक्नुपर्छ । जवाफदेही हुनुपर्छ । हामीले सोचेजस्तो र अपेक्षा गरेजस्तो ठ्याक्कै सरकारले गर्न सक्ने अवस्था कम छ । तर सरकारको मूल दायित्व चाहीं निर्वाचन नै हो ।

जेनजीहरूले निर्वाचन मात्र होइन, पूराना दलहरू आउनु हुँदैन भनिरहेका छन् । यसमा तपाईको धारणा के छ ?

यस बुझाइमा स्पष्टता हुन आवश्यक छ । हामीले दीर्घकालसम्म शासन गर्नको लागि यो नागरिक सरकार गठन गरेको होइन । जेनजी आन्दोलनको उद्देश्य सुशासन र समुन्नति नै हो । सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध आन्दोलनको एउटा कारक थियो । त्यो त फुकुवा भइ नै हाल्यो ।

निर्वाचनपश्चात आउने जुन एउटा जननिर्वाचित सरकार छ, त्यसले मात्रै दीर्घकालिन निर्णयहरू गर्न सक्छ । जेनजी आन्दोलन गर्ने अगुवा साथीहरूले पनि एउटा बुझ्नुपर्ने र बुझिसकेको कुरा के हो भने नागरिक सरकारले सुशासन र समुन्नतिको कामहरू सँगसँगै लिएर जाने हो ।

विशेषगरी जेनजी आन्दोलनमा दमन गर्नेहरूको छानबिन गर्नुपर्ने, उनीहरूलाई कारबाही गर्नुपर्ने, घुसपैठहरू भएको छ भने त्यो पनि छानबिन गर्नुपर्ने, कारबाही गर्नुपर्ने अल्पकालीन कार्यदेश हो । र दीर्घकालीन कार्यदेश भनेको निर्वाचन र त्यसपछाडि आउने सरकारले ल्याउनुपर्ने सुशासन हो ।

जेनजी आन्दोलनपछि रास्वपा कसरी अगाडि बढिरहेको छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन अगाडि पनि देशमा परिवर्तन आवश्यक छ, आन्दोलन जरुरी भनेका थियौं । किनभने परम्परागत राजनीतिक अवस्थाबाट हामीले राजनीति बदल्न सकेनौँ र त्यो राजनीति नबदल्दासम्म आम नागरिकको जीवनस्तर उकासिने अथवा राजनीतिमा एउटा बदलाव आउने स्थिति भएन् । हामीले भदौको २२ गते आन्दोलनलाई स्पष्ट सपोर्ट गर्नेगरी पार्टीको वैठक नै बसेर विज्ञप्ति जारी गरेका थियौं ।

भदौको २० देखि ३० गतेसम्म १० दिनको अन्तरालमा आठवटा विज्ञप्ति जारी गरेका छौं । राजनीतिक दलले आफ्नो आवाजहरू प्रस्फुटन गर्ने भनेको विज्ञप्तिमार्फत हो । जेनजी आन्दोलनले खोजेको परिवर्तनलाई सम्बोधन गर्नेगरी विज्ञप्तिहरू जारी गरेका थियौं । हामी स्पष्ट छौँ, परिवर्तनको पक्षधर दल हौँ ।

जेनजी आन्दोलनपश्चात भएका उपलब्धिलाई रक्षा गर्ने र त्यसलाई अगाडि बढाउने बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी असाध्यै क्रियाशील छ । कतिपय जेनजी अगुवाहरूसँग पनि कुरा गर्ने, भेटघाट गर्ने, मुद्दाहरूमा छलफल, बहस गर्ने, त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा अगाडि बढिरहेका छौं । चुनावबाट अब नयाँ सत्ता हस्तान्तरण हुनुपर्छ भन्नेमा हामी छौं ।

पुराना दलहरू अब संसद नै पुनःस्थापना गर्नुपर्छ भन्नेमा छन्, जेनजी अगुवाहरू पुनःस्थापनाको पक्षमा छैनन् । तर संक्रमणकालको निकास भनेकै चुनाव हो र चुनावबाट यो निकास दिनुपर्छ भन्नेमा हामी स्पष्ट भएर आएका छौं । हामीले बुझाउँदै पनि आएका छौं ।

फागुन २१ गतेको चुनाव केन्द्रित भएर रास्वपाले के गरिरहेको छ ?

फागुन २१ को चुनावमा केन्द्रित भएर विशेषगरी प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारी आह्वान गरेका थियौं । कार्तिक २२ गतेदेखि मंसिरको २५ गतेसम्म आह्वान गरेका थियौं ।

मंसिरको २५ गते थप केही समय म्याद थप्नुपर्छ भनेर उम्मेदवारी आह्वानको समय थपेका छौं । छनोट प्रक्रियाहरु अगाडि बढिसकेको छ । समानुपातिक तर्फको उम्मेदवार टुंग्याउने काम गरिरहेका छौं ।

प्रत्यक्ष तर्फको उम्मेदवारको पनि आह्वान गरिसकेका छौं र त्यो उम्मेदवारी अहिले चलिराखेको छ । उम्मेदवारहरू टुंग्याउने सन्दर्भमा काम गरिरहेका छौं ।

पार्टीको बाचा पत्र तयार गर्ने काम पनि भइरहेको छ । राजनीतिक अध्ययन, निर्वाचन रणनीति कार्यदल गठन गरेर कामहरु गरिरहेका छौं । हामी निर्वाचन केन्द्रित छौं ।

चुनावको लागि रास्वपाको मुख्य एजेण्डा के छ ?

जेनजी आन्दोलनले सुशासन, समुन्नतिको मुद्दा हो । सुशासन, समुन्नतिको सन्दर्भमा हामीले गर्नुपर्ने एकदमै मसिना कुराहरू राष्ट्रिय योजनाका रूपमा लिएका छौं । बाचा पत्र कार्यदलले त्यसमा काम गरिरहेको छ । नागरिक उन्मुख एजेन्डाहरुमा काम गरिरहेका छौं ।

जेनजी आन्दोलन पश्चात एउटा बृहत् राजनीतिक संवाद गरेका थियौं । त्यसपछाडि थुप्रै साथीहरु पार्टी प्रवेश गर्ने, पार्टीको मूलधारमै आउने, पार्टीको नीतिगत तहमै बसेर काम गर्नेगरी जिम्मेवारीहरु पनि दिएर अगाडि बढिरहेका छौं । अन्य विषयमा उच्च संवाद समितिबाट संवादहरु गरिरहेका छौं । जेनजीहरुलाई समेटेर एउटा राष्ट्र निर्माणको मूलधारमा लिएर आउने प्रक्रियामै अगाडि बढेका छौं ।

रास्वपाले अबको चुनावमा कुनै दलसँग गठवन्धन गरेर अगाडि बढ्छ ?

गठबन्धनसँग सम्बन्धित योजनाहरूमा काम गरिरहेका छैनौं । तर समान उद्देश्य भएका साथीहरु कसरी अगाडि बढ्न सकिन्छ भन्ने हिसाबमा संवाद समितिबाट विभिन्न तहको छलफलहरू भएको छ । पार्टी एकै भएर जानेदेखि लिएर विभिन्न मुद्दाहरुमा कुरा भएको छ । गठबन्धनमा त्यति धेरै विश्वास गर्दैनौं ।

परम्परागत राजनीति र पुराना दलबाट निराश भएका जनताहरुलाई रास्वपाले कसरी आकर्षित गर्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको डीएनए नै सुशासन, समुन्नति, लोकतन्त्र र लोक कल्याणकारी राज्य हो । अहिले देशले चाहेको परिवर्तन हो । परिवर्तन भनेको आर्थिक, सामाजिक रुपान्तरण अहिलेको जीवनस्तर उकास्नुपर्ने, भ्रष्टाचार हटाउनुपर्ने हो ।

अहिलेको राजनीतिमा इमान्दारिताको एकदम ठूलो खडेरी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बोल्ने मात्रै होइन काम पनि गर्छ । इमान्दारिताको गहिरो छाप जनतामाझ छाडेका पनि छौं । सभापति रवि लामिछानेको जुन एउटा प्रतिबद्धता छ । त्यसमा आम नागरिक, आम देशप्रतिको प्रतिबद्धता छ ।

यतिबेला जनता रास्वपाप्रति कतिको आकर्षित छन् ?

सभापतिमाथि भएको प्रतिशोधमा ४० लाख जनताले हस्ताक्षर गर्नुभएको छ । विदेश र स्वदेशमा भएका नागरिकहरूले हस्ताक्षर गर्न पाएनौं भनेर गुनासोहरू गर्नुभएको छ । हामीले त्यसलाई अहिले भलै रोकेका छौं ।

अहिले परिस्थितिजन्य कुरामा यसलाई रोकेका छौं । त्यो कारणले गर्दा यो सन्दर्भमा, अहिले हाम्रो सर्वेक्षणबाट असाध्यै धेरै आकर्षणहरू छन् । हामीले यसलाई अगाडि बढाउन सकिराख्या छौं र अहिलेको हिसाबले हेर्ने हो भने, राष्ट्रिय स्वतन्त्र पार्टी एक मात्र आकर्षणको राजनीतिक दलको रूपमा आएको छ ।

जेनजी आन्दोलनपछि रवि लामिछाने एकदमै आलोचित पनि हुनु भएको छ । जेलबाट निस्किएको कुरालाई लिएर पनि धेरै आलोचित हुनुभयो । यसमा तपाईको धारणा के छ ?

त्यसबारेमा छानबिन आयोगले पनि उहाँसँग बयान लियो । आयोगले नै के भनिसक्यो–सुरक्षाका कारणले उहाँलाई जेलरले नै बाहिर पठाएको रहेछ भन्ने कुरो आयोगको प्रमुखले नै भनिसक्नुभयो । यसमा अब थप धारणा नै चाहिदैन् ।

त्यो घटनाले जनतामा अविश्वासको भावना विकसित भएजस्तो देखिन्छ नि ?

आम नागरिकमा त्यो विषयवस्तुमा भएको जुन एउटा शंका थियो, त्यो आयोगको अध्यक्षले नै यो विषयमा बोलिसकेपछि स्पष्ट भइसक्यो । विशेषगरी रवि लामिछानेलाई जेलभित्र राख्दाखेरि सुरक्षा थ्रेट बढी भयो र त्यो आन्दोलनको बेलामा त्यहाँ थप क्षति हुनसक्ने भनेर सुरक्षाको कारणले जेलरले नै बाहिर पठाएका हुन् भनेर जब आयोगकै प्रमुखले भनिसकेपछि अविश्वास गर्नुपर्दैन् । आम नागरिकमा रहेको शंका निवारण भएको छ ।

निर्वाचन सम्बन्धमा सभापतिसँगको कुराकानी के भइरहेको छ ?

पार्टीका विषयमा कुराकानीहरू भइरहेको हुन्छ । निर्वाचनमा जाने विषयमा हाम्रो दुई मत छैन् । यतिबेला देशभरमा आकर्षणको व्यक्ति रवि लामिछाने उहाँमाथि प्रतिशोध र अन्याय भयो भनिराखेका छौं ।

आम नागरिक तहमा पनि रवि लामिछानेलाई अन्याय भयो भन्ने छ । नागरिकको शंका निवारण गर्ने जिम्मेवारी सरकारको हो । शंका निवारण गरेर चुनावमा जाने वातावरण बनाउने सरकारले काम गर्नुपर्छ ।

जेनजी आन्दोलनपछि नयाँ दलहरु खुल्ने क्रममा छन्, पुराना भनिएका दलहरूपनि एकता हुन थालेका छन् । यो चुनाव केन्द्रित हो कि दीर्घकालिन होलाजस्तो लाग्छ ?

चुनावमा हारिन्छ कि भनेर गठबन्धनहरू गर्ने हो । ठुलो पार्टी हुनलाई प्रयासहरू गर्ने हो । यो संसारभर दलहरूमा चल्ने कुरा भयो । नेपालमा त अझ थप स्वार्थ प्रेरित पनि छ ।

चुनाव जित्नको लागि को–कोसँग गठबन्धन गर्ने भन्ने नेताहरूको इच्छाको कुरा हो । यो आम नागरिकको लागि खास राम्रो सन्देश होइन । किनभने दलको एउटा नीति, सिद्धान्त, विचारहरू हुन्छ र त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा चुनावी गठबन्धनभन्दा पनि चुनावमा आफ्नो हैसियतमा जानुपर्छ भन्ने हो ।

चुनाव नजिक आएपछि गठबन्धन गर्ने र चुनाव सकिएपछि फेरि झगडा गर्ने, जुन परिपाटी छ, त्यो हामीले विगतमा धेरै दलहरूको देखेका छौं । त्यो देशको लागि हितकर होइन ।

चुनाव हुन्छ नै भन्ने कुरामा तपाई विश्वस्त हुनुहुन्छ ?

फागुन २१ मा चुनाव गर्नुको विकल्प छैन । फागुन २१ मा चुनाव हुँदैन कि भन्ने जुन शंका गरिएको छ, त्यो शंकाको जवाफ सरकारले दिनुपर्छ । फागुन २१ मा चुनाव हुँदैन भन्ने राजनीतिक दल, शक्तिहरू या तत्वहरूलाई सरकारले जवाफ दिन नसकेको हो कि भन्ने मलाई लागेको छ ।

सरकारी तहबाट सुरक्षाको समस्या छैन्, चुनाव हुन्छ भनिएको छ । तपाई विश्वस्त हुनुहुन्छ ?

सुरक्षा भनेको एकदिन दुईदिन, एक महिनामा बनाउने चिज होइन । निर्वाचनको माहोल बन्दै जाँदाखेरि सुरक्षाको पनि माहोलहरू बन्दै जान्छ र त्यसमा सरकारले इन्टेलिजेन्सहरू पनि प्रयोग गर्नुपर्छ ।

सुरक्षा थ्रेट भएका ठाउँहरू छन् भने त्यसलाई अलिकति पहिचान गरेर कामहरू गर्नुपर्छ । यो एक–दुई हप्तामा बनाउने कुरा होइन, लामो समयदेखि बन्दै आएको एउटा सुरक्षा वातावरणमै निर्वाचन गर्ने हो । जेनजी आन्दोलनबाट देखिएको केही सुरक्षा चुनौतीहरू छ भने त्यो अहिले धेरै नै कम भयो जस्तो लाग्छ । सुरक्षा चुनौतीहरू निवारण भएको अवस्था छ । अब सरकारले अलिकति सुरक्षामा ध्यान दियो, इन्टेलिजेन्स अलिकति प्रयोग गर्छ भने निर्वाचनको लागि सुरक्षा थ्रेट देखिदैन् ।