काठमाण्डु – फागुन २१ को जतिजति नजिकिँदै गएको छ, राजनीतिक ध्रवीकरण पनि बढ्दै गएको छ ।
भदौ २३ र २४ गते पछि फेरिएको राजनीतिक कोर्समा सार्वजनिक रूपमा खासै अगाडि नआएका काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट रिहा भए लगत्तै एकाएक सक्रियता बढाएका छन् ।
सहकारी ठगी प्रकरणमा ९ महिना जेल बसेर रिहा भएपछि रवि र बालेनबीच मंगलबार भएको भेटले राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । त्यो भेटपछि रास्वपाले बालेनलाई पार्टीको भावी प्रधानमन्त्रीका उम्मेदवारको रूपमा पनि चित्रित गरेको छ । तर रविसँग भएको भेटमा मूलभूत मुद्दामा सहमति नभएपछि बालेनले राजनीतिक छलफल तीव्र पारेका हुन् ।
रविसँग भएको पछिल्लो भेटमा कुरा मिल्न नसकेपछि बालेनले आफ्नै रणनीति अनुसार वैकल्पिक शक्ति निर्माणका लागि छलफल थालेका हुन् ।
उनले बुधबार केही स्वतन्त्र व्यक्ति, नागरिक समाजका सदस्य र अन्य दलका नेतासँग पनि बाक्लो संवाद गरेका छन् । बालेन छलफललाई बिहीबार पनि जारी राखेका छन् ।
बालेनले जेनजी अभियन्ता सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा, राप्रपा नेपालका प्रवक्ता ज्ञानेन्द्र शाही, अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग अघिल्लो चुनाव लडेका सागर ढकाल, पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्व नेता मिलन पाण्डे लगायतसँग छलफल गरेका हुन् । शाहीसँग बालेनले बिहीबार पनि छलफल गरेका थिए ।
बुधबार बालेनले डा. भगवान कोइराला, कलाकार निश्चल बस्नेत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी लगायतसँग संवाद गरेका थिए । उक्त बैठकमा एउटै चुनाव चिह्न लिएर वैकल्पिक शक्ति अगाडि बढ्ने या मोर्चा बनाएर अगाडि जाने विषयमा छलफल भएको थियो ।
त्यसकै निरन्तरतास्वरुप उनले बिहीबार बिहान उज्यालो नेपाल पार्टीका संरक्षक एवम् ऊर्जामन्त्री कुलमान घिसिङसँग संवाद गरेका छन् । बालेनका सचिवालय सदस्य कुमार बेनको घरमा दुईजनाबीच करिब ३ घण्टा लामो छलफल भएको हो । बालेन र रविबीच अहिले बेनको कुपण्डोलस्थित घरमा छलफल भइरहेको छ ।
नयाँ शक्तिलाई एकै ठाउँमा ल्याउने योजनासहित उनीहरूबीच पुनः छलफल हुन लागेको रास्वपाका एक नेताले बताए । ती नेताका अनुसार बिहीबार हुने रवि–बालेन छलफल निर्णायक हुनेछ । छलफलका लागि बालेनलाई भेट्न रवि ललितपुरको कुपोण्डोल जाँदैछन् ।
बालेनले आफ्नो टीम र आफू सक्रिय हुँदै ‘देश विकास पार्टी’ अगाडि बढाउने मनस्थिति बनाएको उनीनिकट स्रोतले जनाएको छ । ‘देश विकास पार्टी’मा विभिन्न क्षेत्रका व्यक्तिलाई जोडेर मेयर बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी छ ।
बालेनको टीमले विकल्पमा ‘हाम्रो नेपाल पार्टी’लाई पनि सम्पर्कमा राखेका छन् । दुवै पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेका छन् ।




प्रतिक्रिया