काभ्रे – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् ।
बिहीबार काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरू पनि त्यसतर्फ होमिएको बताएका हुन् ।
निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको बताए ।
निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरूकै कार्यालयमा पुगेर छलफल र अन्तर्क्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख ३ दलका शीर्ष नेताहरू सहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरू निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’
पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले संघ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय वासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति थियो । मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।




प्रतिक्रिया