सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ ।
गत पुस ६ गते घटनालाई लिएर स्थानीय वासिन्दाबाट ढुङ्गामुढा प्रहार तथा हुलदङ्गा लगायतका अवाञ्छित गतिविधि भएपछि शान्ति सुरक्षा कायम गर्न प्रशासनले कर्फ्यू लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम बिहीबार राति ८:३० बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ ।
कर्फ्यू लगाइएका क्षेत्रहरूमा प्रशासनले कमलामाई नगरपालिका वडा नम्बर ४ भित्रका पूर्वमा ग्वाङ खोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमाल फाँट र दक्षिणमा धुराबजार चोकभित्रको क्षेत्रलाई तोकिएको छ ।
कर्फ्यू अवधिमा सर्वसाधारण तथा अत्यावश्यक बाहेकका सवारीसाधनको आवतजावत, कुनै पनि किसिमको भेला, जुलुस वा भेलाजन्य कार्यहरू र ५ जनाभन्दा बढी मानिसहरू एकै ठाउँमा भेला हुन निषेध गरिएको छ ।
प्रशासनले सुरक्षा व्यवस्थामा खलल पुग्ने अवस्था देखिएकाले शान्ति सुव्यवस्था मिलाउन कर्फ्यू आदेश जारी गरिएको स्पष्ट पारेको छ । आदेशको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने समेत चेतावनी दिइएको छ ।





प्रतिक्रिया