सिन्धुली अझै तनावग्रस्त

सिन्धुली अझै तनावग्रस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव अझै शान्त भएको छैन ।

तनाव नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझबाट कफ्र्यु आदेश जारी गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

घटनाबाट आक्रोशित स्थानीयले आरोपीको घरमा आगजनी गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले बिहीबार साँझ साढे ८ बजेदेखि कफ्र्यु लगाएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई पुस ६ गते पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मिना लामा (बम्जन)लाई पुस ७ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

कमलामाई नगरपालिका–४ धुराबजारका ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर सुशीलालाई आगो लगाइ हत्या गरिएको आरोप छ ।

उक्त घटनापछि आक्रोशित स्थानीय सडकमा उत्रिएका छन् । उनीहरूले पीडकलाई कडा कारबाही हुनु पर्ने माग राखेका छन् । आक्रोशित भीडले बिहीबार आरोपीको घरमा आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

अश्रुग्याँस प्रहारपछि भिड झनै उत्तेजित बनेर हुलदङ्गा मच्चाउन थालेपछि शान्ति सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएकोले स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो ।

स्थानीयले घटनालाई अमानवीय र निन्दनीय भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । प्रहरीले घटनामा संलग्न सासू र नन्दलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।