काठमाण्डु – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । शनिबार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
शनिबार काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम शुक्रबारभन्दा घटेको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार शनिबार बिहान ५ : ४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस छ।
शुक्रबार यहि समयमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो।




प्रतिक्रिया