यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा आजपनि हुस्सु र कुहिरो

यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा आजपनि हुस्सु र कुहिरो


काठमाण्डु – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू‍भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

यता तराईका केही ठाउँमा आइतबार पनि दिनभर हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र पश्चिम तराईमा हुस्सु तथा मधेश प्रदेशमा कुहिरो लागेको छ । सोमबार र मंगलबार पनि तराईमा हुस्सु र कुहिरो प्रभाव कायमै रहनेछ ।

पुस लागेसँगै शुरू भएको चिसो थप बढेपछि सर्वसाधारण, पशुचौपाया तथा कृषि बाली सबैजसो क्षेत्र प्रभावित बनेको छ । काठमाण्डौ उपत्यकासहित देशका अरू ठाउँमा पनि चिसो छ ।