प्रतिनिधिसभा निर्वाचन : ३ दलले बुझाए १३४ जनाको बन्दसूची

प्रतिनिधिसभा निर्वाचन : ३ दलले बुझाए १३४ जनाको बन्दसूची


काठमाण्डु– प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनको समय आज र भोलि सम्म तोकिएको छ ।

जसमा आजबाट सुरु भएको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनमा आइतबार तीन वटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूची संकलन भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले भने, ‘निर्वाचन आयोगको समानुपातिक तर्फको पूर्व निर्धारित कार्यक्रम अनुसार पौष १३ र १४ गतेसम्म बन्दसूची पेस गर्ने समय तोकिएकोमा आज तीनवटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूची भेरीफाइ भइसकेको छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्ममा सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहको लागि तयारी अवस्थामा बसेका छौं ।’

निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउन पाउनेछन् ।

आयोगका प्रवक्ता भट्टराईले बन्द सूची पेसदेखि अन्तिम प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया समयसीमा भित्रै सम्पन्न गरिने स्पष्ट पारे । पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । छानबिनका क्रममा कानुनअनुसार समावेशी मापदण्ड पूरा भए–नभएको, उम्मेदवारको योग्यता र सूचीको संरचना जाँच गरिने छ ।