काठमाण्डु – राष्ट्रिय सेवा दल (एनसीसी) नेपालबाट प्रशिक्षित पूर्वविद्यार्थीहरूको संस्था ‘एनसीसी अल्मुनाई एशोसिएशन नेपाल’ले आठौं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा आईतबार जङ्गीअड्डामा आयोजित विशेष समारोहबिच वार्षिकोत्सव सम्पन्न भएको छ ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सेवा दलका सहसंरक्षक समेत रहेका प्रधानसेनापति सिग्देलले राष्ट्रप्रति समर्पित, अनुशासित, नैतिकवान् र कर्तव्यनिष्ठ नागरिक तयार पार्न राष्ट्रिय सेवा दलले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले संस्थाको आठौं वर्ष प्रवेशको अवसरमा शुभकामना व्यक्त गर्दै एनसीसी अल्मुनाई एशोसिएशन नेपालसँग आबद्ध सबै सदस्यहरूले समाज र राष्ट्रका लागि पुर्याएको योगदानको कदर गरेका थिए ।
कार्यक्रममा एशोसिएशनका केन्द्रीय निर्देशक पवन कोइरालाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी याम प्रसाद ढकाल (अवकाशप्राप्त) ले धन्यवाद मन्तव्य राखेका थिए । उक्त अवसरमा नेपाली सेनाका बलाधिकृत, बलाध्यक्ष, रथीवृन्दका साथै देशभरबाट आएका एशोसिएशनका पदाधिकारीहरू, प्रशिक्षकहरू र तालिमरत क्याडेटहरूको बाक्लो उपस्थिति थियो ।
समारोहलाई थप रोचक बनाउन क्याडेट छात्रछात्राहरूले विविध सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरेका थिए ।
विक्रम संवत् २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलबाट दीक्षित भएका विद्यार्थीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले विक्रम संवत् २०७५ सालमा अल्मुनाई एशोसिएशनको स्थापना गरिएको हो । हाल नेपालका ७५ वटा जिल्लाहरूमा राष्ट्रिय सेवा दलको प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । संस्थाले वार्षिक रूपमा करीब ७ हजार ७०० जना युवाहरूलाई तालिम प्रदान गर्दै आएको छ भने हालसम्म ८६ हजारभन्दा बढी छात्रछात्राहरूले सफलतापूर्वक सिनियर तथा जुनियर डिभिजन तालिम पूरा गरिसकेका छन् ।





प्रतिक्रिया