डा. बाबुरामको प्रस्टीकरण : म कुनै दलमा आवद्ध छैन, सबैको अभिभावक हुँ

डा. बाबुरामको प्रस्टीकरण : म कुनै दलमा आवद्ध छैन, सबैको अभिभावक हुँ


काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक सक्रियता र दलगत आबद्धताबारे चलिरहेका विभिन्न चर्चाबारे स्पष्ट पारेका छन् ।

आईतबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू हाल कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र केवल एक अभिभावको भूमिकामा मात्र सीमित रहेको स्पष्ट पारेका छन् ।

डा. भट्टराईले गत वर्षदेखि नै आफू कुनै दलमा नबस्ने र नयाँ पुस्तालाई अगाडि सारेर फरक ढंगले सहयोग गर्ने तयारीमा रहेको खुलाए । विशेषगरी गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि असोज ८ गते बसेको पार्टीको विस्तारित बैठकबाट आफूले औपचारिक रूपमा बिदा लिइसकेको उनले जानकारी दिए ।

आफ्ना सहयात्रीहरूले पछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरे पनि आफू कुनै पनि दलको सदस्य नरहेको उनले बताए ।

आफ्नो वर्तमान भूमिकाका बारेमा प्रस्ट पार्दै डा. भट्टराईले विभिन्न राजनीतिक शक्ति र अभियन्ताहरूले आफूलाई अभिभावक वा संरक्षकका रूपमा हेर्ने गरेको उल्लेख गरे । काठमाण्डुका मेयर बालेन शाह, रास्वपा सभापति रवि लामिछाने, कुलमान घिसिङ र रेशम चौधरी लगायत नयाँ ढंगले आएका नेतृत्वहरूले आफूलाई अभिभावको रूपमा स्वीकार गरेको उनले बताए ।

उनले लेखेका छन्, ‘उहाँहरूले मलाई सद्भावपूर्ण ढङ्गले अभिभावक वा संरक्षक भन्नुहुन्छ, त्यो त मलाई सबैले भन्नुहुन्छ ।’

पछिल्लो समय नयाँ शक्ति र युवा नेतृत्वसँग बढ्दो सामीप्यताबिच डा. भट्टराईले आफ्नो दलगत आबद्धता नरहेको कुरालाई विशेष जोड दिए । उनले आफू कुनै एउटा पार्टीमा नबाँधिई मुलुकका सबै परिवर्तनकारी शक्तिहरूका लागि मार्गदर्शक वा अभिभावकीय भूमिकामा मात्र रहने दृढता व्यक्त गरेका छन् ।