म्यान्मारमा ‘देखावटी’ चुनाव

म्यान्मारमा ‘देखावटी’ चुनाव

देशको आधा जनसङ्ख्या मतदान बाहिर


काठमाण्डु – प्रमुख राजनीतिक दलहरू विघटनमा रहेका र धेरै नेताहरू जेलमै रहेको अवस्थामा म्यान्मारमा आइतबार चुनाव भएको छ । उक्त चुनाव ‘देखावटी’ भएको भन्दै आलोचना भइरहेको छ ।

देशमा जारी गृहयुद्धबीच चरणबद्ध रूपमा हुने चुनावमा आधा जनसङ्ख्याले मतदान नगर्ने ठानिएको छ। म्यानमारमा तीन चरणमा चुनाव हुँदै छ।

कू मार्फत् सत्ता हातमा लिएपछि व्यापक विरोध र गृहयुद्धको सामना गरिरहेको म्यान्मारको सैनिक सरकारले पाँच वर्षपछि चुनावमार्फत् आफ्नो सत्तालाई वैधता दिने प्रयास गरिरहेको छ।

मृत्युदण्ड सहितका कैयौँ सजाय हुने नयाँ कानुन अन्तर्गत २०० जना चुनावमा अवरोध वा विरोध गरेको आरोपमा पक्राउ परेका छन्।

आइतवार मतदान सुरु भएपछि म्यान्मारका दुई क्षेत्रमा विस्फोट भएका विवरण आएका छन्। तर मतदाताहरूले चुनाव यसअघिका भन्दा बढी अनुशासित र व्यवस्थित रहेको प्रतिक्रिया दिएका छन्।

त्यहाँको जुन्ताले चुनावबारे भइरहेको आलोचनालाई खण्डन गर्दै यसको उद्देश्य बहुदलीय लोकतान्त्रिक प्रणालीमा फर्कनु रहेको बताएको छ।

राजधानीमा रहेको उच्च सुरक्षा दलको मतदान केन्द्रमा मतदान गरेपछि जुन्ताका प्रमुख मीन आङ ह्लाइङले निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने बताएका छन्।

‘म सशस्त्र बलको प्रमुख हुँ, म निजामती कर्मचारी हुँ। म राष्ट्रपति बन्न चाहन्छु भन्न सक्दिनँ,’ उनले भने। चलचित्र निर्देशक माइक टी, कलाकार क्याव विन हटुट र हास्य कलाकार ओहन डेइङ सहितलाई गत जुलाईमा जारी भएको नयाँ कानुन अन्तर्गत निर्वाचन बिथोलेको कसुरमा दोषी ठहर गरिएको थियो ।

चुनावको प्रवर्द्धन गर्न बनाइएको एउटा चलचित्रको आलोचना गरेको कसुरमा उनीहरूलाई सात वर्षको जेल सजाय तोकिएको छ ।

‘अभिव्यक्ति स्वतन्त्रता, सङ्गठन निर्माण वा शान्तिपूर्ण भेला हुने स्वतन्त्रताको प्रयोगका लागि कुनै सर्तहरू हुनु हुँदैन, संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारसम्बन्धी शीर्ष अधिकारी फोल्कर ट्यूकले भने।

म्यान्मारमा सशस्त्र सङ्घर्ष गरिरहेका विद्रोही समूहहरूले मानिसहरूलाई चुनाव बहिष्कार गर्न धम्की जारी गरेका छन्।म्यान्मार को सेना कैयौँ मोर्चाहरूमा युद्ध लडिरहेको छ। सैन्य कूको विरोध गर्ने सशस्त्र प्रतिरोध समूहदेखि आफ्नै मिलिसियाहरू भएका जातीय सेनाहरू त्यहाँको सैनिकसँग लडिरहेका छन्।

सरकारी सेनाले देशको ठूलो भागमा नियन्त्रण गुमाइसकेको छ। तर यस वर्ष चीन र रुसको समर्थनमा पुन प्रभावकारी हवाई आक्रमण गर्न सफल भएको सेनाले यसअघि विद्रोहीको कब्जामा पुगेका केही क्षेत्र फिर्ता लिन सफल भएको छ।

म्यान्मारको गृहयुद्धमा ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुगिसकेको छ। लाखौँ विस्थापित भएका छन् र अर्थतन्त्र तहसनहस भएको छ। मार्चमा आएको विनाशकारी भूकम्प र अन्तर्राष्ट्रिय कोष कटौतीले देशको स्थिति अझै खराब अवस्थामा पुगेको छ।

तीन चरणमा हुने चुनावअन्तर्गत अर्को महिना देशका ३३० सहरमध्ये २६५ मा चुनाव हुँदै छ। चुनावको अन्तिम नतिजा जनवरीको अन्त्यतिर आउने अपेक्षा गरिएको छ।

मतदान गरिरहेका सहरहरूमध्ये पनि सबै निर्वाचन क्षेत्रमा चुनाव नहुने ठानिएको छ। जसकारण देशको आधा भागमा मतदान नहुने ठानिएको छ।

सेनासमर्थित ‘युनियन सोलिडारिटी एन्ड डेभलपमन्ट पार्टी’सहित ६ दलहरूले मात्रै देशव्यापी रूपमा उम्मेदवारी दिएका छन्।

बाँकी ५१ वटा दल र स्वतन्त्र उम्मेदवारहरूले प्रदेश वा क्षेत्रीय स्तरमा मात्र उम्मेदवारी दिनेछन्।

आङ सान सू चीको नेशनल लीग अफ डेमोक्रेसीसहित करिब ४० दलमाथि प्रतिबन्ध लगाइएको छ। सू ची र उक्त पार्टीका कैयौँ नेतालाई जेल चलान गरिएको छ भने अन्य नेताहरू निर्वासनमा छन्।