नक्कली सुन देखाएर ५ लाख ठगी गरेको आरोपमा ४ जना पक्राउ

नक्कली सुन देखाएर ५ लाख ठगी गरेको आरोपमा ४ जना पक्राउ


काठमाण्डु – प्रहरीले नक्कली सुन देखाएर ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने पहेंलो धातुको डल्लो दिएर २ व्यक्तिबाट नगद ५ लाख रुपैयाँ लिई फरार भएका उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको छ ।

घटनाको विवरण गत पुस ८ गते थलीमा ‘सुनको डल्लो’ भन्दै नक्कली धातु भिडाएर ठगी गरी उनीहरू फरार भएका थिए । पीडितको उजुरीका आधारमा खोजतलास सुरु गरेको प्रहरीले उनीहरूलाई काठमाण्डु महानगरपालिका–६ चुच्चेपाटीबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोवर–३ घर भई हाल नख्खु बस्ने ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरको इन्द्रसरोवर–२ घर भई हाल पाटन बस्ने ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुरको बकैया–११ घर भई हाल लगनखेल बस्ने ५३ वर्षीय वीरबहादुर तामाङ/बिवासित स्याङ्तान र नवलपरासीको देवचुली–१७ घर भई हाल एकान्तकुना बस्ने ४२ वर्षीय जित बहादुर तामाङ रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि ठगी कसूरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ । पछिल्लो समय सस्तोमा सुन दिने प्रलोभन देखाएर नक्कली धातु भिडाउने गिरोह सक्रिय रहेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।