काठमाण्डु – नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले स्थापनाको १०० वर्ष पूरा गरेको अवसरमा मंगलबार जङ्गीअड्डास्थित सभामण्डपमा विशेष समारोह आयोजना गरेको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अस्पतालको विकासमा ऐतिहासिक योगदान पुर्याउने वरिष्ठ स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको छ ।
समारोहमा प्रधानसेनापति सिग्देलले अस्पतालका प्रथम कमाण्डिङ अफिसर एवं वरिष्ठ शल्य चिकित्सक अवकाशप्राप्त प्राविधिक सहायक रथी मदनमान मल्ल र अवकाशप्राप्त मेट्रोन प्राविधिक प्रमुख सेनानी विन्दु श्रेष्ठलाई सम्मान गरे । सैनिकका रूपमा राष्ट्रप्रतिको कर्तव्य र स्वास्थ्यकर्मीका रूपमा जटिल जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी अस्पतालको चिकित्सा क्षेत्रलाई उचाइमा पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको छ ।
शतवार्षिकी मनाउने क्रममा प्रधानसेनापति सिग्देलले आईतबार छाउनीस्थित अस्पतालको प्राङ्गणमा नवनिर्मित वीर स्मारकको समेत अनावरण गरेका थिए । स्मारकले देशका लागि प्राण उत्सर्ग गर्ने वीर सैनिक र अस्पतालको सेवा भावलाई प्रतिबिम्बित गर्ने सेनाले जनाएको छ ।
अस्पतालकी कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. नम्रता रावलले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीहरूको बाक्लो उपस्थिति थियो । समारोहमा बलाधिकृत, बलाध्यक्ष तथा बहालवाला र अवकाशप्राप्त रथीवृन्दहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, विभिन्न सरकारी तथा गैरसरकारी अस्पताल एवं संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
विक्रम संवत् १९८१ सालमा स्थापना भएको वीरेन्द्र अस्पतालले विगत १०० वर्षदेखि सैनिक, उनीहरूका परिवार र सर्वसाधारणलाई समेत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।




प्रतिक्रिया