काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएका करिब ११ हजार मतदानस्थलमध्ये एकतिहाइ स्थल अति संवेदनशील मानिएको छ । सुरक्षाका दृष्टिले ती मतदानस्थलहरू अति संवेदनशील सूचीमा समेटिएका छन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तय गरेको छ ।
गृह मन्त्रालयका अनुसार तय भएका मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले एकतिहाइ अर्थात् ३ हजार ६ सय ८० स्थललाई अति संवेदनशील सूचीमा समेटिएको छ । आयोगले तय गरेको मतदानस्थल र मतदान केन्द्रलाई सुरक्षा चुनौतीका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ ।
यस्तै ४ हजार ४ सय ४२ मतदानस्थल संवेदनशील र २ हजार ८ सय ४५ स्थललाई सुरक्षा संवेदनशीलताका हिसाबले सामान्य सूचीमा राखिएको छ ।
सरकारले आसन्न निर्वाचन सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ‘निर्वाचन प्रहरी’ गरी सवा ३ लाख सुरक्षाकर्मी परिचालन गर्ने निर्णय लिइसकेको छ ।
निर्वाचन सुरक्षामा सेनाका ७९ हजार ७ सय २७, नेपाल प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६, अनुसन्धान विभागका १ हजार ९ सय र करिब १ लाख ४७ हजार निर्वाचन प्रहरी खटाउन लागिएको छ ।
निर्वाचन प्रहरीअन्तर्गत नेपाल प्रहरीमार्फत १ लाख ३२ हजार ३ सय ५७ र सशस्त्र प्रहरीमार्फत १४ हजार ५ सय ७० निर्वाचन प्रहरी भर्ना गरिँदैछ ।
सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएका प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र वडाभित्रका पनि मतदानस्थल र मतदान केन्द्रमा सोही अनुसार सुरक्षा तैनाथ गराउने तयारी छ ।




प्रतिक्रिया