गगन थापा अझै विशेष महाधिवेशनको अडानमा

गगन थापा अझै विशेष महाधिवेशनको अडानमा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने अडान कायमै राखेका छन् ।

४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको शुभकामना व्यक्त गर्दै उनले राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी रहेको बताएका हुन् ।

यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्न उनको आग्रह छ ।

थापाले पुस मसान्त भित्र विशेष महाधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको उल्लेख गरे ।

पौष मसान्तभित्र विशेष महाधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको उनको दाबी छ।

निर्धारित कार्यतालिकाअनुसार अगाडि नबढ्दा कांग्रेसको आजका लागि तय गरेको वडा अधिवेशन प्रभावित भएको छ।

कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न हुन सकेन। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजकमा महामन्त्री थापा छन्। थापाले जिल्ला सभापतिहरूलाई २९ मंसिरभित्र नवीकरणको काम सम्पन्न गर्न र ३ पुसभित्र केन्द्रमा पठाइसक्ने गरी काम गर्न निर्देशन दिएका थिए।