काठमाण्डु– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र मनोबल उच्च बनाउनु आवश्यक रहेको बताएका छन् ।
शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबल बढाउन सरकारसँग आग्रह गरिएको बताए ।
उनले निजी क्षेत्रको मनोबल वृद्धि, संरक्षण तथा प्रवद्र्धन महासंघको प्रमुख माग रहेको स्पष्ट पारे । अध्यक्ष ढकालले आसन्न निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै निर्वाचनमा सहभागिताका लागि राजनीतिक दलहरूले देखाएको तत्परताले देश निर्वाचनतर्फ अघि बढेको देखिएको बताए ।
‘यो चुनावी वातावरण लोकतन्त्रप्रतिको वर्तमान सरकारको समर्पणको उदाहरण हो,’ उनले भने, ‘शान्ति र स्थायित्वका लागि हामी विवेकी, लचिलो र प्रतिबद्ध छौं भन्ने कुरा यसले पनि पुष्टि गर्छ । समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको भान परेको छ । निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै हुन सकेको छैन ।’
तर समृद्धिका लागि अत्यावश्यक निजी क्षेत्रको संरक्षणको विषय भने अझै ओझेलमा परेको उनले गुनासो गरे । निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरणको सुनिश्चितता अझै हुन नसकेको उनको भनाइ थियो ।
उनले भने ‘पछिल्लो डेढ बर्षदेखि सरकार करिब डेढ खर्ब रुपैयाँले घाटामा छ । बैंकहरु करिब ११ खर्ब रुपैया लगानी गर्न तयार छन् । निजी क्षेत्र रकम लिएर उद्यम गर्न चाहदैन । त्यसैले राजश्वको रकमले कर्मचारीको तलब भत्ता पनि नपुग्ने अवस्था आएको हाे ।’
उनले प्रश्न गरे ‘पूर्वाधारमा लगानी हुन सकेको छैन । निजी क्षेत्रले निर्माण गर्ने पुर्वाधारमा पनि विभिन्न बहाना बनाएर अवरोध हुने गरेको छ । पूर्वाधार निर्माण र उद्योग कल कारखाना भएनन् भने रोजगारी कसरी सम्भव होला ? स्वदेशमै रोजगारी दिने कल्पना कसरी सम्भव होला ? सरकारले बर्षको ३ हजार देखि ३५ सय जनालाई मात्रै रोजगारी दिन सकेको छ । निजी क्षेत्र संकुचित हुँदा त्यहाँ पनि अवसर छैन ।’
यस्तै उनले युवा उद्यमशीलता कार्यक्रम संचालन गर्न नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्न जेनजी पुस्तालाई आग्रह र प्रस्ताव समेत गरेका छन् ।




प्रतिक्रिया