पुरानो घर राप्रपामा फर्किन पाउँदा कमल थापा खुसी !

पुरानो घर राप्रपामा फर्किन पाउँदा कमल थापा खुसी !


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले पुरानो घर राप्रपामा फर्किन पाउँदा खुसी लागेको बताएका छन् ।

बुधबार काठमाण्डुमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले होइन, अत्यन्तै भारी मनले राप्रपाको घर छाडेर गएको भन्दै आज फर्किंदा खुसी लागेको बताए ।

उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भइरहेको छ । अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको थिए, खुसीले होइन, विभिन्न कारणले म घर छोडेर गए । अहिले घर फर्किंदा खुसी पनि छु ।’

कतिपयले बुझेर नबुझेर हारेर भागेको आरोप लगाएको भन्दै त्यो कुरा सत्य नभएको उनले बताए । उनले भने, ‘त्यसबेला मलाई कतिले बुझेर नबुझेर आरोप लगाए, गीताको कसम खाएको मान्छेले पार्टी फुटायो, हारेर भाग्यो । तर ती सबै कुरा असत्य हुन् । म खेलाडी पनि भएकाले हारलाई स्वीकार्ने व्यक्ति हुँ ।’

उनले नयाँ पुरानाको भेदलाई हटाएर अब सशक्त तरिकाबाट अगाडि बढ्न सबैलाई आग्रह पनि गरेका छन् ।