जनकपुरधाम – धनुषाको विभिन्न स्थानबाट सर्वसाधारणको नाममा वालेट आईडी बनाएर ठगी गर्ने समूहलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत ठगी गर्ने समूहका ६ जना पक्राउ गरेकोबारे जानकारी दिएको छ ।
पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानी चोकमा मामा भान्जा ट्रेडर्स (आईएमई) सञ्चालन गरेर बसेका विशाल भुजेल, धनुषाधाम–९ घर भई हाल धारापानी चोकमा मोबाइल पसल सञ्चालन गरेर बसेका ३७ वर्षीय सन्तोष मण्डल, धनुषाको धनौजी गाउँपालिका–२ का २५ वर्षीय साधु राम, सोही स्थानमा घर भई हाल जनकपुरधामको शिव चोकमा डेरा गरी बसेका २२ वर्षीय बलराम मण्डल, धनौजी गाउँपालिका–२ का २० वर्षीय रुपेश कुमार साह र सोही स्थानका १९ वर्षीय निक्की कुमार राम रहेका छन् ।
उनीहरूले ठगी गरी विभिन्न व्यक्तिहरूको नाममा खोलिएको वालेट आईडीबाट हालसम्म ३९ लाख २० हजार ६५ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ ।
पक्राउ परेकाहरूमध्ये आईएमई सञ्चालक भुजेलले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेका मानिसहरूले आफन्त तथा घरपरिवारका सदस्यहरूको नाममा अन्य मुलुकबाट रेमिट्यान्स पठाएको रकम निकाल्न आउँदा नागरिकता र फोटो आवश्यक पर्ने भन्दै प्रतिलिपी निकाली वालेट आईडी बनाउने गरेको खुलेको छ ।
पक्राउ परेका मोबाइल पसल सञ्चालक मण्डलले सीम कार्ड निकाल्न आउने सेवाग्राहीलाई झुक्क्याएर उनीहरूको नाममा अन्य सिमकार्ड निकाली वालेट आईडी बनाएर आईएमई सञ्चालक भुजेललाई दिने गरेको खुलेको छ ।
ठगी गर्ने मुख्य व्यक्तिहरू बलराम मण्डल, रुपेश कुमार साह र निक्की कुमार रामले भने सामाजिक सञ्जालमार्फत नक्कली प्रोफाइल बनाएर लत्ता कपडा, फर्निचर, मोटरसाइकल लगायतको विभिन्न किसिमका फोटो र भिडियो पोष्ट गरी विज्ञापन गर्ने गरेको खुलेको छ ।
विज्ञापनको प्रलोभनमा परेर सर्वसाधारणहरूले पठाउने रकम वालेट आईडीमा राखेर उनीहरू सम्पर्कविहीन हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बहादुर बमले जानकारी दिए ।
ठगीमा पक्राउ परेका साधु रामले भने मोबाइल पसल सञ्चालक मण्डलबाट वालेट आईडी तथा वालेटमा प्रयोग हुने सीम कार्ड खरीद गरी वालेट आईडी आफ्नो मोबाइलमा लगइन गरी आईडीको क्युआर कोड सामाजिक सञ्जालमार्फत पोष्ट भएको विज्ञापन देखेर प्रलोभनमा परेका सर्वसाधारणहरूलाई पठाउने र रकम प्राप्त भएपछि सोबाट २५–३० प्रतिशत कमिसन लिई बाँकी विज्ञापन पोष्ट गर्ने तीनै जनालाई दिने गरेको खुलेको छ ।
उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको १९ थान मोबाईल, ४ वटा ल्यापटप, एप्पल कम्पनीको एउटा आईप्याड, ठगी गर्न प्रयोग भएको २० वटा सीमकार्ड, सीमकार्डको सिरियल नम्बर तथा सीम कार्ड नम्बर मात्र खुल्न आएको ५५ वटा कभर र इन्टरनेटका ३ वटा राउटर फेला पारेर नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूको विरुद्धमा ३ जनाले जाहेरी लेखी पेश गरेकाले सोसहित अनलाई ठगी सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




प्रतिक्रिया