जनकपुरधाममा मिथिला पहिरन दिवस, पोशाकलाई अन्तर्राष्ट्रियकरण गर्न पहल

जनकपुरधाममा मिथिला पहिरन दिवस, पोशाकलाई अन्तर्राष्ट्रियकरण गर्न पहल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधाममा विहीबार मिथिला पहिरन दिवस मनाइएको छ ।

राष्ट्रिय पोशाक दिवसको उपलक्ष्यमा हिन्दू सम्राट सेना नेपालले आजको दिन मिथिला पहिरन दिवसको रूपमा मनाउने गरेको छ ।

रामायणकालीन इतिहास बोकेको मिथिला क्षेत्रको राजधानी जनकपुरधामको मौलिकता बचाइराख्ने उद्देश्यले परम्परागत मैथिली पहिरन (धोती, कुर्ता, गम्छा, पाग) लगाएर समाजलाई मिथिलाको पहिचान स्मरण गराउन खोजेको हिन्दू सम्राट सेनाका केन्द्रीय सदस्य ज्ञानेन्द्र सनातनीले जानकारी दिए ।

मिथिलावासीले अहिले आफ्नो संस्कृति र पहिचान बिर्सिसकेकाले उनीहरूलाई आफ्नो परम्परा र पहिचानको ध्यान गराउन आवश्यक रहेको उनले बताए ।

अहिलेका मिथिलावासीले हनुमान चालिसा र गायत्री मन्त्र समेत बिर्सिसको उनले गुनासो गरे । उनले सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्नेहरूले आफ्नो धर्म, संस्कृति र पहिचान पहिला के हो भनेर बुझ्न आवश्यक रहेको बताए ।

हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्णा सनातनीले मिथिलाको पहिचान मैथिली पोशाकलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।

वैदिक सनातन धर्ममा धोती कुर्ता र पागको उल्लेख रहेकाले यसलाई नबिर्सिन सबैलाई उनले आग्रह गरे । उनले जन्मदेखि मरणसम्म हरेक शुभ कार्यमा पूजा पाठ गर्दा पनि धोती र कुर्ता नै लगाइने हुँदा आधुनिकीकरणको नाममा संस्कृति बताउन सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले अभिभावकहरूलाई आफ्नो बच्चालाई संस्कृति सिकाउन र बचाउन आग्रह गरेका छन् ।