काठमाण्डु – राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीलाई काठमाण्डु महानगरपालिकाले सम्मान गरेको छ ।
आईतबार आयोजित विशेष समारोहमा टोलीलाई पहिलो महिला टी–२० दृष्टिविहीन विश्वकप क्रिकेट २०२५ मा उपविजेता बनेको अवसरमा सम्मान गरिएको हो ।
प्रतियोगिता कात्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो । सम्मान कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले खेलकुदमा समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, ‘हरेक खेलकुदलाई हामीले सहयोग गर्दै आइरहेका छौं । खेलाडीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता छ । हाम्रो महिला खेलाडीहरूले क्रिकेटमा धेरै प्रगति गरेका छन् र देशको प्रतिष्ठा बढाएका छन् । यसैले आज हामीले सम्मान गर्दै कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।’
समारोहमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाह समेत उपस्थित थिए ।




प्रतिक्रिया