एमच्याम नेपालको अध्यक्षमा विजयानन्द

एमच्याम नेपालको अध्यक्षमा विजयानन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम) को अध्यक्षमा कैलाश विजयानन्द चयन भएका छन् ।

काठमाण्डुमा आयोजित एमच्याम नेपालको चौथौ वार्षिक साधारण सभाले विजयानन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उनी ग्लोबल टेक कम्पनी लिपफ्रगका प्रमुख कार्यकारी अधिकृत हुन् ।

लिपफ्रग टेक्नोलोजीले नेपालसहित भारत, बेलायत, स्वीट्जरल्याण्ड, क्यानडा र अमेरिकामा विगत करीब २ दशकदेखि सेवा दिइरहेको छ । प्रोग्रमरका रूपमा करिअर सुरुआत गरेका विजयानन्दले पोर्टसमाउथ विश्वविद्यालयबाट कम्प्युटर साइन्समा डिग्र हासिल गरेका छन् ।

कार्यसमितिको बोर्ड सदस्यहरूमा फोर्ड कम्पनीका आकाश गोल्छा, जुनो कम्पनीका मनिष थापा, मोघा इनर्जीका समराथ मोघा, बोटलर्स नेपालका स्नेह राजभण्डारी, पठाओ नेपालकी सुरक्षा हमाल, डियर होल्डका सचिन करनजीत चयन भएका छन् । एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित बिक्रम शाह, सेमन्त दाहाल र निवर्तमान अध्यक्ष निर्मलकाजी श्रेष्ठ पनि बोर्ड सदस्यमा चयन भएका छन् ।

त्यस अवसरमा नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनले नेपाल र अमेरिकाबीच व्यापार र लगानी अभिवृद्धि तथा पारदर्शी र पूर्वानुमान व्यावसायिक वातावरण निर्माणका लागि नेपालस्थित अमेरिकी दूतावास र एमच्याम नेपालबीच बलियो सहकार्य रहेको बताए  । उनले एमसिसी नेपाल कम्प्याक्ट परियोजनाबाट नेपाल र अमेरिकी कम्पनीका लागि रूपान्तरणकारी अवसरहरू सिर्जना गर्ने उल्लेख गर्दै आगामी दिनमा नेपालमा अमेरिकी लगानी बढ्नेमा विश्वास व्यक्त गरे ।

राजदूत थम्पसनले लगानीमैत्री वातावरण सुदृढ गर्न र नीतिगत निश्चितता बढाउन नेपालले चाल्न सक्ने ठोस कदमबारे चर्चा गरेका थिए । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनलाई स्वीकार गर्दै नेपालमा स्थिर र दीर्घकालीन आर्थिक वृद्धिका लागि उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन स्कट अर्बन, पब्लिक अफेयर्स प्रमुख माइक हार्कर, इकोनोमिक प्रमुख केट लेहयी र इकोनोमिक अफिसर जेरहा नाक्भी र आनन्द गुरुङ लगायतको उपस्थिति थियो ।

त्यस अवसरमा एमच्याम नेपालका कार्यकारी निर्देशक अमीरराज थापाले बोर्डको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले बोर्डको प्रतिवेदन र कम्पनीको वित्तीय प्रतिवेदन अनुमोदन गरिएको थियो ।