काठमाण्डु – इरानमा सरकार विरोधी प्रदर्शन तीव्र भएको छ । प्रदर्शन राजधानी तेहरानसहित अन्य सहरहरूमा पनि फैलिएको छ ।
तेहरान र दोस्रो सहर मशादमा बिहीवार साँझ भएको शान्तिपूर्ण प्रदर्शनमा भेला भएकाहरूलाई सुरक्षा फौजले धपाउने प्रयास गरेको थिएन।
प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईलाई सत्ताच्युत गर्न र पूर्वराजा शाह मोहम्मदका निर्वासनमा रहेका छोरा रेजा पह्लवीलाई सत्तामा फर्काउनु पर्ने माग गरेका छन् ।
पह्लवीले आफ्ना समर्थकहरूलाई सडकमा उत्रिन आह्वान गरेका थिए।
इरानी मुद्रा रिआलको चर्को अवमूल्यन भएपछि इरानका ३१ वटै प्रान्तका १०० भन्दा बढी सहर र बस्तीहरूमा फैलिएको प्रदर्शन शुक्रबार १२ औँ दिनमा प्रवेश गरेको छ ।
प्रदर्शनमा अहिलेसम्म कम्तीमा ३४ जनाको मृत्यु भएको र त्यसमा पाँच जना बालबालिका छन् । यस्तै ८ जना सुरक्षाकर्मी पनि मारिएका छन् । प्रदर्शनका क्रममा २,२७० जनालाईगिरफ्तार गरिएको बताइएको छ।
तर नर्वेमा रहेको निगरानी समूह इरान ह्युमन राइट्स (आईएचआर)ले सुरक्षा फौजबाट ८ बालबालिकासहित कम्तीमा ४५ जना प्रदर्शनकारी मारिएका जनाएको छ।
‘शाह जिन्दावाद, यो अन्तिम लडाइ हो, पह्लवी फर्किनेछन्’ जस्ता नारा सडकमा लगाइएको छ ।
सन् १९७९ को इस्लामिक क्रान्तिले आफ्ना बुबालाई अपदस्थ गरेका र हाल वाशिङ्टन डिसीमा बस्ने रेजा पह्लवीले इरानीहरूलाई सडकमा उत्रिन र संयुक्त मोर्चाको रूपमा आफ्ना मागहरू राख्न आह्वान गरेका थिए ।
उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सत्तालाई जबाफदेही बनाएको भन्दै धन्यवाद दिएका छन् र युरोपेली नेताहरूलाई पनि त्यसै गर्न आग्रह गरेका छन्।
बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराानमा प्रदर्शनकारीहरूको ज्यान लिने कार्य गरेमा आफूले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए।
इरानका राष्ट्रपति मसूद पेजेश्किआनले शान्तिपूर्ण प्रदर्शनको सामना गर्दा सुरक्षा फौजलाई अधिकतम संयम अपनाउन आग्रह गरेका छन्।




प्रतिक्रिया