भेनेजुएलामाथि भएको अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानून विपरीत हो : अध्यक्ष ओली

भेनेजुएलामाथि भएको अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानून विपरीत हो : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा देखिएका असुरक्षा, हस्तक्षेप र अत्याचारविरुद्ध पार्टीको स्थिर नीति रहेको बताएका छन् ।

शनिबारको पार्टी केन्द्रीय कमिटी बैठकमा विश्व परिस्थितिका पछिल्ला घटनाक्रमप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै उनले भने, ‘विश्व राजनीति अस्थिर, पूर्वानुमान गर्न कठिन र जोखिमपूर्ण बन्दै गएको छ, नियममा आधारित प्रणाली निष्प्रभावी हुँदैछ, बहुपक्षीयता र अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदैछन्, शक्ति राष्ट्रबीचको अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ ।’

उनले हालसालै देखिएका घटनाहरूको उदाहरण दिँदै भने, ‘कुनै सार्वभौम राष्ट्रका नेताहरूमाथि हत्या धम्की, अपहरण, आतंकवादका आक्रमण, निर्दोष नागरिकको नरसंहार, कृत्रिम बौद्धिकता र सूचना प्रविधिको सामरिक प्रयोग, जलवायु संकटजस्ता चुनौतीहरूले मानव जातिको अस्तित्वमै खतरा पैदा गरेका छन् ।’

नेकपा एमालेको नीति अनुसार, स्वतन्त्र परराष्ट्र नीति, सन्तुलित बाह्य सम्बन्ध, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, अहस्तक्षेप र सहअस्तित्व प्रवर्द्धन नै प्राथमिकता हुन् । ओलीले अतिवाद, कट्टरपन्थ, संरक्षणवाद र पथभ्रष्ट राजनीतिको विरोध जारी राखेको पनि दोहोर्‍याए । उनले भने, ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन । हाम्रो परराष्ट्र नीतिका मूल मान्यता हुन्, कुनै मुद्दा वा विचारधाराले राष्ट्रबीचको ध्रुवीकरण वा विभाजनको बहाना बन्न हुँदैन, अन्तर्राष्ट्रिय विवादहरू संवाद र कूटनीतिक पहलमार्फत शान्तिपूर्ण समाधान हुनुपर्छ ।’

ओलीले हालै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, राष्ट्रपतिलाई नियन्त्रणमा लिनु र अमेरिका प्रक्रियामा मुद्दा चलाउनु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र बडापत्र र पञ्चशीलको विपरीत भएको भन्दै यसप्रति पार्टीको विरोध व्यक्त गरे । युक्रेनको भौगोलिक अखण्डता सम्बन्धी छलफल, ग्रिनल्याण्ड नियन्त्रण प्रयास र गाजा–वेस्ट ब्याङ्कमा प्यालेस्टिनी जनतामाथिको ज्यादतीप्रति गहिरो आपत्ति व्यक्त गरे ।

अल्पसंख्यक समुदायमाथिको हमलाप्रति चिन्ता प्रकट गर्दै बंगलादेशको परिस्थिति सुधार्न ध्यानाकर्षण गराइरहेको उल्लेख गर्दै म्यान्मारमा लोकतन्त्र शीघ्र बहाल हुनुपर्ने माग समेत ओलीले राखेका छन् ।