एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको आदेश

एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको आदेश


काठमाण्डु – अखिल नेपाल फूटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले अन्तरिम आदेश नआउँदासम्मका लागि आगामी माघ २८ गते हुने भनिएको एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अन्तरिम आदेशबारे छलफलका लागि माघ ६ गते पेशी तोकिएको छ । निर्वाचनका लागि एन्फाले निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ ।

अदालतको आदेशमा उल्लेख छ, ‘मिति २०८२।१०।६ गतेको अन्तरिम आदेश छलफलको लागि पेशी तोकी सोको सूचना निवेदक र विपक्षीहरूलाई दिई सो अवधिसम्मको लागि मिति २०८२।९।२१ मा नयाँ पत्रिका दैनिकमा प्रकाशित सूचना बमोजिमको उम्मेदवारी दर्ता फारम बुझ्ने लगायत निर्वाचन सम्बन्धीको अन्य कुनै पनि कार्य नगर्नु/नगराउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’