टेलिकमको ‘बिलिङ’ प्रणालीमा गडबडी ! एकैपल्ट ५० लाख नोक्सानी

टेलिकमको ‘बिलिङ’ प्रणालीमा गडबडी ! एकैपल्ट ५० लाख नोक्सानी


काठमाण्डु – नेपाल टेलिकमले पुरानो बिलिङ प्रणालीको भर पर्दा एकैपल्ट ५० लाख रुपैयाँ गुमाउनुपरेको खुलासा भएको छ ।

मंगलबार साँझ पुरानो बिलिङ प्रणालीले प्रयोगकर्ताको चाप धान्न नसक्दा प्रणालीलाई नै बाइपास गरेर डाटा सेवा दिनुपर्दा आम्दानी गुमाउनुपरेको हो ।

टेलिकमको आन्तरिक स्रोतका अनुसार डाटा प्रयोगकर्ताको चापलाई पुरानो बिलिङ प्रणालीले धान्न नसक्दा समस्या देखिएर गडबडी भएको हो । मंगलबार अपराह्न सवा ५ बजेदेखि टेलिकमको डाटा सेवामा गडबडी भएर सेवा अवरुद्ध भएको तथा राति साढे ७ बजेपछि बिलिङ प्रणालीलाई बाइपास गरेर नि:शुल्क सेवा सञ्चालन गरिएको थियो । त्यतिबेला डाटा प्याक लिएका प्रयोगकर्ताले प्याकबाटै र प्याक नलिई सोझै डाटा प्रयोग गरेका प्रयोगकर्ताले नि:शुल्क इन्टरनेट चलाएका थिए । बिलिङ प्रणालीले काम नगर्दा डाटा प्रयोगकर्ताले कुनै बिल तिर्नुपरेन । यसरी बिलिङ प्रणालीमा गडबडी आउँदा टेलिकमको २०० टीबी डाटा नि:शुल्क प्रयोग भएको बताइएको छ । टेलिकममा सन् २०११ देखि चिनियाँ कम्पनी एसिया इन्फोको बिलिङ प्रणाली रहेको छ ।

पुरानो बिलिङ प्रणाली समयानुकूल नहुँदा समस्या देखिने गरेको स्रोतले दाबी छ । टेलिकमले पुरानोलाई विस्थापित गरेर नयाँ बिलिङ प्रणाली जोड्न खरिद प्रक्रिया अगाडि बढाए पनि त्यो विवादित हुँदा ढिलाइ भइरहेको छ ।

नयाँ बिलिङ प्रणाली खरिदका लागि टेलिकमले २०२५ मार्च १८ मा ठेक्का आह्वान गर्दा ह्वावे टोक्नोलोजिज र ह्वेल क्लाउडले प्रस्ताव बुझाएका थिए । टेलिकमले २०२५ अगस्ट ३१ मा ह्वावेलाई मात्रै प्राविधिक रूपमा योग्य ठहर्‍याउँदै २०२५ सेप्टेम्बर १५ मा आर्थिक प्रस्ताव खोल्ने सूचना निकाले पनि त्यसयता प्रक्रिया अगाडि बढ्न सकेको छैन । सूचना अनुसार सेप्टेम्बर २४ मा प्रस्ताव खोल्ने मिति तोकिएको भए पनि सेप्टेम्बर २२ मा सञ्चारमन्त्री जगदीश खरेल नियुक्त भए पछि सेप्टेम्बर २४ मा टेलिकमले विशेष परिस्थिति निम्तिएको भन्दै पूर्वनिर्धारित आर्थिक प्रस्ताव खोल्ने मिति, समय र स्थान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

ठेक्का प्रक्रियामा विवाद भएपछि मन्त्री खरेलले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा समिति बनाएर अध्ययन गराएको र समितिले ठेक्का प्रक्रियामा केही कैफियत देखिएकाले सुधार गर्नुपर्ने निष्कर्ष दिएको छ ।

टेलिकमको बिलिङ प्रणालीमा भूराजनीतिक चासो देखाउँदै टेन्डर प्रक्रिया विवादित बनाउने काम भएको स्रोतले जनाएको छ । जसले गर्दा टेलिकमले नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको छ ।

यस विषयमा प्रतिक्रिया लिन टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरलाई टेलिफोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।