निर्वाचन आउन अब ४८ दिन बाँकी : निर्वाचन प्रहरीमा आवेदन दिने म्याद थपियो

निर्वाचन आउन अब ४८ दिन बाँकी : निर्वाचन प्रहरीमा आवेदन दिने म्याद थपियो

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा आवेदन कम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरी भर्नाका लागि मागअनुसार आवेदन नआएपछि आवेदन दिने समय थप गरिएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कम आवेदन परेपछि शनिबारसम्म म्याद थप गरिएको हो ।

दरखास्त संख्या न्यून भएपछि आवेदन दिने समय थपिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार दरखास्त दिने अन्तिम दिन तोकिएको थियो ।

कास्कीलगायत उच्च जनघनत्व भएका केही जिल्लामा समेत दरखास्त कम परेपछि म्याद थप गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आ–आफ्नो जिल्लास्थित कार्यालयबाट पुस २५ गते निर्वाचन प्रहरीका लागि भर्ना खुलाएका थिए । एक साताको समय तोकिएकामा करिब २ लाखको आवेदन परेको थियो । अधिकांश जिल्लामा मागभन्दा बढी आवेदन परेको छ । तर भर्नासम्बन्धी मापदण्डमा नपरेर कतिपय आवेदक छनोट चरणबाटै बाहिरिन्छन् ।

२१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा परिचालन गर्न नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी छ ।

मंसिर २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाइएकामा दोब्बर अर्थात् २ लाख ३२ हजार ८८ जनाको दरखास्त परेको थियो । वैशाख २०७९ को स्थानीय तह निर्वाचन सुरक्षामा पनि करिब १ लाख म्यादी प्रहरीको आवेदन खुलाउँदा तेब्बर अर्थात् करिब ३ लाखको दरखास्त परेको थियो ।

तर यो पटक पहिलेभन्दा बढी आवेदन माग गरिएपनि कम आवेदन परेकाले समय थप गरिएको हो । नेपाल प्रहरीका अनुसार निर्वाचन प्रहरीमा पूर्वम्यादी प्रहरी, पूर्वसुरक्षाकर्मी र वन रक्षकसमेत छन् ।

आसन्न निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्न केन्द्रीय सुरक्षा समिति बैठकले स्वीकृति दिइसकेको छ । जसअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ लाख ८८ हजार जनशक्ति परिचालित हुँदै छन् ।

यसबाहेक ४० दिन कार्यअवधि तोकेर करिब डेढ लाख निर्वाचन प्रहरी खटाउने तयारी छ ।

निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान र लत्ताकपडा तथा जवानसरहको रासन भत्ता पाउनेछन् ।

एक निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुनेगरी ४० दिनको ३४ हजार रुपैयाँ तलब र जिल्ला दर निर्धारण समितिले तोकेअनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता पाउँछन् ।

निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रतिव्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ताअनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइने उल्लेख छ । यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइनेछ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलअन्तर्गत छनोट हुने निर्वाचन प्रहरीको तालिम छुट्टाछुट्टै हुनेछ र उनीहरूको पोसाक पनि फरक रहनेछ ।

नेपाल प्रहरीमार्फत भर्ना हुने म्यादी निर्वाचन प्रहरीलाई प्रत्यक्ष रूपमा मतदान केन्द्रमा खटाइनेछ भने सशस्त्र प्रहरी बलमार्फत भर्ना हुनेलाई बाहिरी गस्ती तथा कार्यालय सहयोगका कार्यमा परिचालन गर्ने तयारी छ ।